नेपाल आउने पर्यटकको दैनिक खर्च १९ प्रतिशतले घट्यो

जेठ १४, काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको पाइएको छ। सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले पर्यटक आगमन बढे पनि उनीहरूको खर्च भने घट्दै गएको देखाएको हो।

नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थापाले पर्यटकले खर्च नगर्ने अवस्था रहे पर्यटन क्षेत्रबाट मुलुकको समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने बताए। उनका अनुसार नेपाल आउने पर्यटकले यात्रामै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले यहाँ आएपछि अन्य क्षेत्रमा खर्च गर्ने क्षमता सीमित हुने गरेको छ।

‘यातायात टिकटमै तीन हजार डलरसम्म खर्च हुन्छ। त्यसपछि पर्यटकले यहाँ खुलेर खर्च गर्ने अवस्था रहँदैन,’ उनले भने।

थापाले पर्यटकलाई बढी खर्च गर्न आकर्षित गर्न विलासी पर्यटन प्याकेजको व्यवस्था आवश्यक रहेको बताए। उनले सडक तथा पूर्वाधार सुधार, सुविधायुक्त गन्तव्य विकास, कलात्मक संरचना निर्माण तथा यात्रा खर्च कम गर्न सके पर्यटकको खर्च गर्ने प्रवृत्ति बढ्न सक्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्