बसभित्र युवतीको सुनको सिक्री लुट्ने चार जना पक्राउ
जेठ १४, काठमाडौं । गलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको लिशंखुवाखर गाउँपालिका–७ का २९ वर्षीय जनक तामाङ, सोही स्थानका ३० वर्षीय मनकुमार तामाङ, ललितपुरको कोन्जोसोम गाउँपालिका–५ का २५ वर्षीय उमेश मुक्तान तथा काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ३० वर्षीय अर्जुन तामाङ रहेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार १३ जेठमा कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको बसभित्र एक युवतीको गलामा लगाएको सुनको सिक्री लुटिएको थियो।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आरोपितहरूलाई लुटिएको सुनको सिक्रीसहित पक्राउ गरेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्