पठाओ नेपालले सुरु गर्यो हेलिकप्टर बुकिङ सेवा
जेठ १४, काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओ नेपालले आफ्नो सेवा विस्तार गर्दै अब मोबाइल एपमार्फत हेलिकप्टर बुकिङ सेवा सुरु गरेको छ। कम्पनीले सिम्रिक एयरसँगको सहकार्यमा ‘पठाओ हेली’ सेवा सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार अब यात्रुले पठाओ एप तथा पठाओ हेलीको वेबसाइटमार्फत सहज रूपमा हेलिकप्टर बुक गर्न सक्नेछन्। सेवामार्फत यात्रुले गन्तव्यअनुसारको मूल्य विवरण हेरेर प्रत्यक्ष बुकिङ गर्न पाउने व्यवस्था गरिएको छ।
‘पठाओ हेली’ मार्फत मुक्तिनाथ, गोसाइँकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविर लगायत धार्मिक तथा पर्यटकीय गन्तव्यमा हेलिकप्टर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ।
एउटा हेलिकप्टरमा एकपटकमा चारदेखि पाँच जनासम्मले यात्रा गर्न सक्नेछन्। तीर्थयात्रा, नवविवाहित जोडीका लागि विशेष भ्रमण, पारिवारिक यात्रा तथा साथीभाइसँग छोटो समयमा विभिन्न गन्तव्य घुम्न चाहनेहरूका लागि यो सेवा उपयोगी हुने कम्पनीको दाबी छ।
पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले नेपालको डिजिटल अर्थतन्त्र विस्तार गर्ने लक्ष्यसहित कम्पनीले यातायात, पार्सल डेलिभरी, खाना डेलिभरी, गृह सेवा र विद्युतीय व्यापारलाई एउटै प्लेटफर्ममा जोड्दै अघि बढिरहेको बताए।
नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०८५ लाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वाससहित यो सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्