नेपालमा स्वास्थ्य जनशक्ति बढ्दो, तर विशेषज्ञ अभाव चुनौती कायम

जेठ १४, काठमाडौं । नेपालमा प्रति हजार जनसंख्यामा डाक्टर र नर्सको संख्या बढ्दै गएको देखिएको छ। सरकारद्वारा सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार हाल देशभर प्रति हजार जनसंख्यामा १.८६ डाक्टर र ४.४२ नर्स उपलब्ध छन्।

नेपाल मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिलमा २०८२ फागुनसम्म दर्ता भएका स्वास्थ्यकर्मीको तथ्यांकका आधारमा तयार गरिएको विवरणले स्वास्थ्य जनशक्तिको पहुँच विस्तार हुँदै गएको देखाएको छ। अघिल्लो वर्ष सोही अवधिमा प्रति हजार जनसंख्यामा डाक्टर १ र नर्स २.८६ मात्र रहेका थिए।

सर्वेक्षणअनुसार देशभर ८,९७६ सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन्। तीमध्ये ४२० अस्पताल, १८१ प्राथमिक स्वास्थ्य केन्द्र, ३,६०३ स्वास्थ्यचौकी, ४२६ आयुर्वेदिक औषधालय, ४,३४६ उपस्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र समावेश छन्।

सरकारी स्वास्थ्य संस्थामा १८,६४० शय्या उपलब्ध छन् भने १,४७,७५६ स्वास्थ्य जनशक्ति कार्यरत छन्। यसमध्ये ७,०३० डाक्टर, २८,६५० नर्स तथा अनमी, १६,३१३ स्वास्थ्य सहायक, ६८४ कविराज, ६९३ वैद्य र ५१,३८६ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्।

तर, सर्वेक्षणले स्वास्थ्य पूर्वाधार र जनशक्ति बढ्दै गए पनि विशेषज्ञ चिकित्सकको अभाव, दुर्गम क्षेत्रमा जनशक्ति टिकाइराख्ने कठिनाइ र उपकरण अभावजस्ता समस्या अझै कायम रहेको जनाएको छ। विशेषगरी काठमाडौँ बाहिरका जिल्लामा विशेषज्ञ सेवा सीमित हुँदा स्वास्थ्य सेवा प्रभावित हुने अवस्था देखिएको छ।

प्रतिक्रिया दिनुहोस्