‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको ठहर, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन
जेठ १४, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले सिद्धार्थ आयल इन्डस्ट्रिज द्वारा उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड पूरा नभएको जनाएको हो।
विभागका अनुसार सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित आयातित तोरीबाट बनेको उक्त तेलमा कैफियत भेटिएको हो। उपभोग्य मिति ६ महिना रहेको र ब्याच नम्बर २० भएको तेलको उत्पादन मिति २८ फागुन २०८२ उल्लेख गरिएको छ।
खाद्य प्रविधि तथा गुणस्तर विभाग ले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ उपदफा ९२० अनुसार उक्त ब्याचको तेल बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको जनाएको छ।
त्यसैगरी, ऐनको दफा ३८ उपदफा ९४० बमोजिम सोही तेलको बिक्री वितरण नगर्न तथा नगराउन समेत आदेश जारी गरिएको विभागले जनाएको छ।
प्रयोगशाला विश्लेषणका क्रममा तेलका विभिन्न गुणस्तर सूचकहरू सरकारले तोकेको मापदण्डअनुसार नभेटिएकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको विभागको भनाइ छ।
अब सम्बन्धित उत्पादकले बजारमा पठाइसकेको उक्त ब्याचको सम्पूर्ण तेल आफ्नै खर्चमा फिर्ता गर्नुपर्नेछ। साथै विभागले उपभोक्तालाई उक्त ब्याचको तेल प्रयोग नगर्न सचेत गराएको छ।




प्रतिक्रिया दिनुहोस्