आर्थिक सर्वेक्षण २०८२/८३: अर्थतन्त्र ३.८५% वृद्धि हुने प्रक्षेपण, रेमिट्यान्स ऐतिहासिक उचाइमा
जेठ, १३ काठमाडौँ ; अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सङ्घीय संसदमा प्रस्तुत गरेको चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले विश्व अर्थतन्त्रमा अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बीच पनि नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको जनाएको छ।
सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपणसँग तुलना गर्दा नेपालको वृद्धि दर सकारात्मक मानिएको छ। अर्थतन्त्रको कुल आकार करिब ६६ खर्ब पुग्ने र प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि देखिए पनि अन्य प्रदेशहरूको वृद्धि तुलनात्मक रूपमा कमजोर रहने सर्वेक्षणमा उल्लेख छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान गरिएको छ।
धान उत्पादनमा भने ४.२० प्रतिशतले गिरावट आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको देखाइएको छ। फागुनसम्म संघीय राजस्व ३.२ प्रतिशतले बढेको भए पनि विकास खर्च (पुँजीगत खर्च) मा अपेक्षित सुधार देखिएको छैन।
सरकारको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो। यसै वर्ष मात्र ३ खर्ब सार्वजनिक ऋण परिचालन गरिएको छ।
बाह्य क्षेत्रमा भने सुधार देखिएको छ। रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ भने विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब पुग्दै १८.५ महिनाको आयात धान्न सक्ने अवस्थामा पुगेको छ। यद्यपि व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुगेको छ।
मुद्रास्फीति औसत २.१३ प्रतिशतमा नियन्त्रणमा रहेको छ भने डिजिटल भुक्तानी प्रणालीमा तीव्र विस्तार देखिएको छ। क्यूआर कोडमार्फत मात्र १ खर्ब २५ अर्बभन्दा बढी कारोबार भएको छ।
क्रेडिट रेटिङमा नेपालले ‘BB-’ स्टेबल आउटलुक प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय लगानी साखमा सुधार संकेत गरेको सर्वेक्षणले जनाएको छ।
मानव विकास सूचकाङ्क ०.६२२ पुगेको छ भने औसत आयु ७१.३ वर्ष पुगेको छ। स्वास्थ्य तथा शिक्षामा पनि सुधार देखिएको छ—मातृ मृत्युदर र बाल मृत्युदर घटेको छ र आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ।




प्रतिक्रिया दिनुहोस्