मेकअप आफैंमा कहिल्यै सिकेर सकिँदैन: टेकराज पाण्डे, चर्चित व्यवसायिक मेकअप आर्टिष्ट
सबै किसिमका मेकअप गर्छु र ब्युटि एकेडेमीमार्फत् तालिम पनि प्रदान गर्दै आईरहेको छु । टेकराज पाण्डे, चर्चित व्यवसायिक मेकअप आर्टिष्ट/सिईओ–एमयुए मेकअप ब्युटि एकेडेमी ‘म व्युटि मेकअपमा दख्खल राख्छु । ब्युटि मेकअप अन्तर्गत्का सम्पूर्ण मेकअप गर्न म सक्छु । मेकअप आफैंमा कहिल्यै सिकेर सकिँदैन । यो व्यापक छ । सिकेपश्चात् आफ्नो सिकाईमार्फत् आफूले कति र कस्ता व्यवसायिक व्यक्तिहरु उत्पादन गर्न सकियो भन्ने कुराले सफलताको मापन गर्छ । आजसम्म मैले धेरै व्यक्तिहरुलाई मेकअप आर्टिष्टको तालिम प्रदान गरेको छु । म आफ्नो पेशा र व्यवसायिक धर्मप्रति ईमान्दार छु । त्यसको प्रमाण पुराना व्युटिसियनहरु मसँग पुनः नयाँ कोर्षको तालिमहरु लिन आईराख्नु हो । त्यससँगै, मसँग तालिम लिएपश्चात् व्यवसायिक यात्रामा उहाँहरु अब्बल र सक्षम बन्दै गैरहनु हो । उहाँहरुको सफलताले आफूलाई हर्षित र खुशी तुल्याउँदो रहेछ । व्यक्तिको निरन्तरको परिश्रम, समर्पण, आत्मविश्वास, लगनशीलता, ईमान्दारिता र लगावले हरेक व्यक्तिलाई सफलता दिलाउँछ ।’
नेपाली मेकअप आर्टिष्ट क्षेत्रमा एक अब्बल नाम हो– टेकराज पाण्डे । अर्घाखाँची जिल्ला स्थायी ठेगाना भएका पाण्डेले संघीय राजधानीलाई कर्मथलो बनाएर नेपाली कला, मोडलिङ् र चलचित्र क्षेत्रमा अग्रपंक्तिमा स्थापित हुनुहुन्छ । प्रारम्भिक चरणमा भारतमा सौन्दर्य क्षेत्रमा प्रशिक्षण लिएपश्चात् नेपालमा व्यावसायिक रुपमा प्रवेश गर्नुभएका पाण्डे मेकअप ब्युटि आर्टिष्टका रुपमा मात्रै सीमित हुनुहुन्न । उहाँ आफैंले नेपाली कला क्षेत्रमा प्रख्यात संस्था दक्ष ईन्टरनेशनलमार्फत् मिस र मिसेस ब्युटिफुल सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आउनुभएको छ । उहाँले ग्लोबल स्टार अवार्ड जस्तो महत्वपूर्ण इभेण्ट पनि आयोजना गर्दै आउनुभएको छ ।
नेपाली चलचित्र क्षेत्रका बहुसंख्यक कलाकारको मेकअप गरिसक्नुभएका पाण्डेले बानेश्वरमा एमयुए ब्युटि एकेडेमी सञ्चालन गरि मेकअप सम्बन्धी प्रशिक्षण र विभिन्न तालिमका कोर्षहरु दिदै आउनुभएको छ । दशकभन्दा बढि समयदेखि मेकअप क्षेत्रमा संलग्न हुँदै आउनुभएका पाण्डे धेरैका लागि एक सफल मेकअप व्यवसायी र आर्टिष्ट हुनुहुन्छ । व्यवसायिक ईमान्दारिता, लगशीलता, समर्पण, आत्मविश्वास र लगावले स्थापित भएको बताउनुहुने अग्रणी मेकअप आर्टिष्ट एवं एमयुएका सिईओ टेकराज पाण्डेसँग डिजिटल अनलाईन जागरणन्यू.डट.कमका लागि सम्पादक अतीत पोखरेलले गर्नुभएको सम्पादित संवाद:
‘निरन्तरको परिश्रम, समर्पण, आत्मविश्वास, लगनशीलता, ईमान्दारिता र लगावले हरेक व्यक्तिलाई सफलता दिलाउँछ ’
सौन्दर्यको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
सौन्दर्यको क्षेत्रमा मेरो रहर र लगाव भएकाले दिल्लीमा गएर अध्ययन गरे । तब व्यावसायिक मेकअप आर्टिष्ट बन्ने लक्ष्य सहित म नेपाल फर्किएँ । व्यावसायिक कोर्ष गर्नुभन्दा अघिपनि मैले मेकअपको काम गर्दै आएको थिएँ । तर दिल्लीम मैले कोर्ष पुरा गरेसँगै नेपाल आइ आफ्नै जिल्ला अर्घाखाँचीमा मेकअप स्टुडियो खोलें तर व्यावसायिक हिसाबले सफल हुन सकेन । खासमा त्यसका पछि ग्रामिण शहरमा मेकअप सम्बन्धी सकरात्मक दृष्टिकोण र चेतनाको विकास हुन नसक्नु जस्ता कारणहरु जिम्मेवार थिए जस्तो लाग्छ । तब काठमाडौं आई ७० को दशकको प्रारम्भमा डिल्लिबजारमा राज मेकअप स्टुडियो संचालनमा ल्याएँ । स्थापनाको छोटो अवधिमै भुकम्पले रफ्तारमा अघि बढिरहेको व्यवसायिक वातावरणलाई केही हदसम्म बिथोलिदियो । केही समयपछि, पुरानै गति र लयका साथ स्टुडियोले आफ्नो यात्रा निरन्तर अघि बढाईरह्यो । हामी विगत सातवर्षदेखि पूर्णव्यावसायिक हिसाबले एमयुए ब्युटि एकाडेमीको नाममा बानेश्वरमा सञ्चालनमा छौं ।
तपाईको मेकअप क्षेत्रप्रतिको आकर्षणको कारण के हो ?
खासमा मेरो रुची चाहिँ चलचित्र क्षेत्र नै हो । तर, तुलनात्मक हिसाबले मेरो शारिरी उचाई कम भएकाले सोंच अनुरुप मैले चलचित्र क्षेत्रमा काम गर्ने कुरामा रुचीलाई दबाएँ । तब कलाकार बन्नुभन्दा मेकअप आर्टिष्टका रुपमा काम गरेर नाउँ कमाउँ भन्ने सोंच पैदा भएर म यता मोडिएँ । संघर्ष अनुरुपको सफलता पनि पाई नै रहेको छु । त्यसले मलाई हर्षित तुल्याँछ र पेशाप्रति निरन्तरता दिन प्रोत्साहित गर्छ ।
यो क्षेत्रमा कहिलेदेखि संलग्न हुनुहुन्छ ?
म विगत १२ वर्षदेखि व्यावसायिक मेकअप ब्युटि आर्टिष्टको क्षेत्रमा संलग्न छु । प्रारम्भमा मेकअपको बक्स बोकेर कामको खोजिमा हिँडेको र गृहजिल्ला अर्घाखाँचीमा राज मेकअप पार्लर खोलेर चलाएको दृष्य मेरो मष्तिस्कमा झलझलि आइरहेका छन् । देशको ग्रामिण भेगको सानो सहरमा मेकअपप्रति आम नागरिकहरुमा आकर्षण नबढेको र सानो बजार क्षेत्र भएकाले पनि व्यावसायिक भएकाले अपेक्षित सफलता नपाउनु स्वभाविक थियो । तर मैले उहाँहरुलाई आफ्नो सीप र दक्षता देखाउन पाएकोमा खुशी छु ।
तपाईंको विचारमा मेकअप के हो ?
व्यक्तित्वमा निखारता ल्याउने कला नै मेकअप हो जसले तपाईको आत्मविश्वासमा वृद्धि गराउँछ । यसले तपाईंको सुन्दरता प्रदर्शन गर्छ । समग्रमा मेकअपले सुन्दरता देखाउन सहयोग गर्छ ।
तपाईं बढि जसो कस्तो किसिमको मेकअपमा रुची राख्नुहुन्छ ?
अहिले बजारमा विभिन्न नयाँ किसिमका मेकअपहरु आईरहेका छन् । यद्यपि, त्यस्ता नेपालमा प्रयोगमा आएका सबैजसो मेकअप गर्छु र व्यवसायिक हिसाबले सिकाउँदै पनि आईरहेको छु । म व्यावसायिक रुपमा राज मेकअप व्युटि स्टुडियोमार्फत् ५० भन्दा बढि मेकअपहरु सिकाउँछु ।
खासमा मेकअप चाहिँ के कति किसिमका हुन्छन् ?
मौसफ, कार्यक्रम र परिस्थिति अनुरुप मेकअपहरु विभिन्न प्रकारका हुन्छन् । उदाहरणको लागि, जाडो र गर्मी याममा गरिने मेकअप फरक हुन्छ । त्यसैगरी ईनडोर आउटडोर, हेवी पार्टी, वाटरप्रुफ मेकअप ग्लिटर, सिमर, स्टेज, म्युजिक भिडियो, ब्राइडल लगाएतका विभिन्न किसिमका मेकअप हुन्छन् ।
तपाईंलाई मेकअप गर्न अप्ठेरो लाग्ने कुनै क्यारेक्टर छ कि ?
खासमा म व्युटि मेकअप स्पेसल आर्टिष्ट हुँ । तसर्थ, व्युटि मेकअप अन्र्तगत्का सम्पूर्ण किसिमका मेकअप गर्ने क्षेमता मसँग छ । हुन त मेकअपमा मानिस कहिल्यै निपुर्ण हुनसक्तैन । यसको क्षेत्र वृहत् छ । यो एक व्यापक र गहिरो कला हो । म व्युटि मेकअपमा दख्खल राख्छु । व्युटि मेकअप अन्र्तगत्का सम्पूर्ण मेकअप गर्न म सक्छु । मेकअप आफैंमा कहिल्यै सिकेर सकिँदैन । सिकेपश्चात् आफ्नो सिकाईमार्फत् आफूले कति र कस्ता व्यवसायिक व्यक्तिहरु उत्पादन गर्न सकियो भन्ने कुराले सफलताको मापन गर्छ । आजसम्म मैले धेरै व्यक्तिहरुलाई मेकअप आर्टिष्टको तालिम प्रदान गरेको छु ।
आर्टिष्टहरुले प्रायः कस्तो मेकअपमा रुची राख्छन् ?
मेकअप प्रत्येक व्यक्तिको रोजाईमा भर पर्छ । कसैले न्याचुरल मेकअप खोज्छन् भने कसैले हेवी मेकअप गर्न मनपराउँछन् । नयाँ योङ जेनेरेशनले नयाँ र पुरानाले पुरार्नै किसिमको मेकअपमा रुची राख्छन् । यद्यपि म उहाँहरुलाई नेचुरल्ली राम्रो देखाउने प्रयास सँधै गरिरहेको हुन्छु ।
पछिल्लो समय तपाई व्युटि कन्टेटतिर पनि लाग्नु भएको छ । त्यतातर्फ किन आकर्षित हुनुभयो ?
मेकअफ क्षेत्रसँग जोडिएर समाज र देशका लागि केही योगदान गरौं भन्ने हुटहुटीले मलाई यता आकर्षित गर्यो । त्यससँगै, नाम कमाउने कुराले मलाई घच्घच्याईरह्यो । तब दक्ष ईन्टरनेशनल नामक संस्था दर्ता गरें । सोही संस्थामार्फत् मिस व्युटिफुल नेपाल ईभेन्ट आयोजना गरें । वि.सं. २०७३ मा पहिलो संस्करण राष्ट्रिय नाचघर जमलमा आयोजना गरेपश्चात् वर्षेनी यो प्रतियोगिता भव्यरुपमा आयोजना हुँदै आईरहेको छ । मिस र मिसेस व्युटिफुल सौन्दर्य प्रतियोगिता हामीले निरन्तर आयोजना गरिरहेका छौं । बाहिर एक्पोज हुन नसकेका प्रतिभाहरुलाई उजागर गर्ने हेतुले यो कार्यक्रम गरिएको हो । अर्कोतर्फ, ग्लोबल स्टार अवार्ड चाहिँ राज्यले समाज र देशका लागि योगदान गरिरहेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई हौसला, प्रोत्साहन र योगदानको कदर नगरेको देखेपछि उनीलाई उत्साहित र सम्मान गर्ने पवित्र सोंचले आयोजना गरिएको हो । त्यस्तै, नयाँ प्रतिभाहरुलाई प्रोत्साहित गर्ने संस्कारको थालनी गर्न यो जोखिम उठाएको हुँ । मलाई यो यात्रा कठिन र चूनौतीपूर्ण छ भन्ने थाहा हुँदाहुँदै पनि देशको लागि जोखिम उठाएको हुँ ।
नेपालीहरुको सौन्दर्यचेतमा तपाईंले बदलाव हुँदै गएको पाउनुहुन्छ वा कस्तो स्थितिमा छ ?
तपाईंले भन्नुभएजस्तै नेपालीहरु सौंन्दर्यप्रति सचेत हुँदै गैरहेको देखिन्छ । मानिसहरुमा सुन्दर देखिन रुची राख्नु बदलिँदो समयको माग हो । वास्तवमा फोटो, भिडिया रिल्सका लागि भएता पनि मानिसहरु सुन्दर देखिन रुची राख्छन् । यसरी उनीहरुमा सौन्दर्यचेत बढ्दै गैरहेको छ ।
यो व्यवसायमा आम्दानीको अवस्था कस्तो छ?
मिहिनेत अनुसारको आम्दानी राम्रो छ । नाम र दाम दुवैमा म खुशी छु । मलाई लाग्छ मैले निकै राम्रो गरिरहेको छु । म यस क्षेत्रमा सन्तुष्ट छु ।
तपाईंले यस क्षेत्रमा लागेर विभिन्न मान, सम्मान र पुरस्कारहरु प्राप्त गर्न सफल हुनुभएको छ ? कस्तो लाग्छ?
हो मैले यस क्षेत्रमा योगदान गरेवापत थुप्रै मान सम्मान र पुरस्कारहरु प्राप्त गर्न सफल भएको छु । सबैले माया, प्रशंसा, प्रोत्साहन र सम्मान गर्दा खुशी लाग्नु स्वभाविक हो । यसले गर्दा पक्कै पनि मैले यो क्षेत्रको उन्नयन र विकासका निम्ति केही गरेछु भन्ने महसुस हुन्छ । आफैंभित्र खुशी हुन्छु भने पेशाप्रति गौरव लाग्छ ।
अन्त्यमा, यो क्षेत्रमा आउँदै गरेका नयाँपुस्तालाई के सुझाव दिन चाहनुहुन्छ ?
यो क्षेत्रमा आउँदै गरिरहेका नया पुस्तालाई राम्रो आर्टिष्टसँग समयको माग अनुसारका प्याकेजका स्किलहरु सिक्नुहोस् भन्न चाहन्छु । बजारमा योग्य र दक्ष जनशक्तिका लागि काम पाउन गाह्रो छैन । मेकअप व्युटि आर्टिष्टको लागि अवसर व्यापक छ । आफ्नो सपनालाई साकार पार्नका निम्ति आफैंले स्टुडियो खोल्नुहोस् र कामप्रति ईमान्दार हुनुहोस् । आत्मविश्वास राख्नुहोस, अवश्यै सफल हुनुहुनेछ ।




प्रतिक्रिया दिनुहोस्