विश्वभर अर्बपतिहरुको संख्या २ हजार ७८१ जना , नेपालका एक्ला अर्बपति बिनोद चौधरी १७६४औँ स्थानमा

काठमाडौं,२१ चैत । विश्वभर डलर अर्बपतिहरुको संख्या २ हजार ७८१ पुगेको छ । फोब्र्सले २ अप्रिले सन् २०२४ मा सार्वजनिक गरेको वार्षिक सूची अनुसार गत वर्ष (सन् २०२३) को तुलनामा अर्बपतिहरुको संख्या १४१ जनाले बढेर हालसम्मकै उच्च पुगेको हो । यस सुचीमा नेपालका एक्ला अर्बपति बिनोद चौधरी १७६४औँ स्थानमा पुगेका छन् ।

अर्बपतिहरुको यो संख्या सन् २०२१ मा बनाएको रेकर्ड भन्दा २६ जनाले थप भएको फोब्र्सले उल्लेख गरेको छ । अर्बपतिहरुको सम्पति पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो समय विश्वका प्रमुख सेयर बजारहरु नयाँ उचाईमा पुगेपछि अर्बपतिहरुको सम्पतिमा पनि उल्लेख्य वृद्धि भएको हो ।
फोब्र्सको सूची अनुसार २ हजार ७८१ जना अर्बपतिहरुको कुल सम्पति १४२ खर्ब डलर पुगेको छ । सम्पति सन् २०२३ को भन्दा २० खर्ब डलर धेरै हो भने यसअघि सन् २०२१ मा बनाएको रेकर्डभन्दा ११ खर्ब डलर बढी हो । सूचीका दुई तिहाइ अर्बपतिहरुको सम्पति १ वर्ष अघिको भन्दा बढेको छ । एक चौथाइको मात्र सम्पति घटेको फोब्र्सले जनाएको छ ।

सबैभन्दा धेरै अर्बपतिहरु अमेरिकामा रहेका रहेका छन् । अमेरिकामा अर्बपतिहरुको संख्या अहिलेसम्मकै उच्च ८१३ पुगेको छ । त्यस्तै उनीहरुको सम्पति ५७ खर्ब डलर पुगेको छ । दोस्रो धेरै अर्बपति हुने देशमा चीन रहेको छ । चीनका ४७३ जना अर्बपतिहरु रहेका छन् र यिनीहरुको सम्पति १७ खर्ब डलर रहेको छ । तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिहरुको संख्या इतिहासकै उच्च २०० पुगेको छ ।

नेपालका एक मात्र अर्बपति चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी अर्बपतिहरुको सूचीमा १.८ बिलियन डलर सहित १७६४ औँ स्थानमा रहेका छन् । चौधरी अघिल्लो वर्षको अर्बपतिहरुको सूचीको तुलनामा भने ११७ स्थान तल झरेका छन् ।

प्रतिक्रिया दिनुहोस्