कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्न खोज्यो : सभापति थापा
काठमाडौं, ९ जेष्ठ। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गन खोजेको बताएका छन् । उनले सरकारको गलत क्रियाकलाप रोक्न आफूहरूले प्रयास जारी राख्ने बताए ।
सभापति थापाले मुलुकको अवस्थालाई बुझेर पार्टीभित्रको असहमति र विमतिलाई मिलाएर समाधान खोज्न आफू तयार रहेको बताए । उनले केन्द्रीय समितिबाहिर रहेका सबैलाई समेटेर अगाडि बढ्न तयार रहेको दोहोर्याए ।
भदौ २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भदौ २४ गतेको विध्वंशको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताएका हुन् ।
उनले सरकार आफैँले गरेको प्रतिबद्धताअनुसार भदौ २४ गतेको विध्वंशको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग समेत गरे ।
उनले भदौ २३ र २४ गतेको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै प्रतिवेदन अनुसार दोषीलाई कारबाही हुनुपर्ने जिकिर गरे ।
थापाले मानव अधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको सुनिएकाले त्यस्ता कार्य नगर्न आग्रह समेत गरे ।
सभापति थापाले नयाँ सरकार गठन भएयता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जिकिर गर्दै कुनै हालतमा यस्ता कार्य मान्य नहुने बताए ।
पार्टीविधि र विधानबाहिर गएर काम नगर्न उनको आग्रह छ ।




प्रतिक्रिया दिनुहोस्