आईसीसी क्रिकेट विश्वकप लिग टु: ओमनसँग नेपालको सानदारजित
काठमाठडौं, २२ बैशाख । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ । आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट बलिङ प्रदर्शन गरेसँगै नेपालले जित निकालेको हो ।
गुल्सनले ५ विकेट लिएपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो ।
त्यसअघि शेख दाजुभाई आसिफ र आरिफ ब्याटिङमा चम्किँदा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो ।
यस सिरिजमा नेपालले चार मध्ये ३ खेल जित्दै ६ अंक जोड्न सफल भयो । २४ खेलबाट १८ अंक जोडेको नेपाल ८ टोली सहभागि लिग टु मा सातौं स्थानमै यथावत छ ।
यस सिरिजमा नेपालले यसअघि युएईलाई ३६ रन र ६ रनले पराजित गरेको थियो भने ओमानसँग १०२ रनले पराजित भएको थियो । आजको जितपछि नेपालले ओमान विरुद्ध अघिल्लो हारको बदला समेत लिएको छ ।
अब नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलिति लिग टु को अर्को शृंखला यही वैशाख २९ गतेदेखि घरेलु मैदानमै खेल्नेछ ।
नेपालले दिएको मध्यम लक्ष्य पछ्याएको ओमानका लागि आज नेपालका गुल्सन झा घातक सावित भए । उनले ५ विकेट लिएपछि ओमानले ४० ओभर पनि पूरा ब्याटिङ गर्न सकेन ।
ओमानका लागि विकेटकिपर विनायक शुक्लाले ४१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ३६ रन बनाए । यस्तै हम्मद मिर्जाले ३४, हसनैन वाहावले २९ रन बनाए । अ३ल्लो खेलमा नेपाल विरुद्ध शतक बनाएका कप्तान जतिन्दर सिंह १२ र वासिम अली १० रनमा आउट भए ।
ओमानलाई अलआउट गर्न नेपालका लागि गुल्सन झाले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।
ओमान विरुद्ध गुल्सनले आफ्नो ओडिआई करियरकै उत्कृष्ट बलिङ फिगर राख्दै दोस्रो पटक ५ विकेट लिएका हुन् । यसअघि उनले सन् २०२४ सेप्टेम्बरमा क्यानडाको ओन्टारियोमा भएको लिग टु अन्तर्गत ओमान विरुद्ध नै १० ओभरमा २ मेडन राख्दै ४७ रन खर्चेर ५ विकेट लिएका थिए ।
करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र उपकप्तान दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।











प्रतिक्रिया दिनुहोस्