आधुनिक डेरीमा मन्त्री खनालको छापा, पाउडर गोदाममा शिल

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले बालाजुक स्थित आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेका छन् ।

आधुनिक डेरीले उत्पादन गरेका खाद्यबस्तुहरु गुणस्तरहीन रहेको सूचना आएपछि मन्त्री खनालले सोमबार बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेको हुन् ।

मन्त्रालय र सरोकारवाला निकायका टोलीसहित सोमबार बिहान बालाजु पुगेका मन्त्री खनालले अनुगमनपछि आधुनिक डेरी प्रोडक्टले सरसफाइमा ध्यान नदिएको, दूध बनाउन मिति उल्लेख नभएको पाउडर प्रयोग गरेको भेटिएको बताए । त्यसैगरी दग्ध पदार्थको उत्पादनमा असल उत्पादन प्रणाली प्रयोग गर्नुपर्ने भए पनि आधुनिक डेरी प्रोडक्टले त्यसो नगरेको पाइएको मन्त्री खानाले बताए ।

दूध बनाउन प्रयोग हुने पाउडरमा स्पष्ट रुपमा मिति उल्लेख नभएको भेटिएपछि अनुगमन टोलीले पाउडर गोदाममा शिल गरिदिएको छ ।

टोलीले अहिले औद्योगिक क्षेत्रभित्रका अन्य उद्योगहरुमा अनुगमन गरिरहेको छ ।

मन्त्री खनालले पछिल्लो समय मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने तरकारी बजार, दुग्ध उत्पादन कम्पनीहरुको अनुगमनमा सक्रियता देखाउँदै आएको छ । यसअघि मन्त्री खनालले कालीमाटी तरकारी बजारको पनि अनुगमन गरेका थिए । यसले गर्दा उपभोक्तालाई केहि राहत पुग्ने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्