आइसिसी विश्वकप लिग-२ : युएईविरूद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं, १३ बैशाख । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिपक्षीय सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबारदेखि सुरू भएको नेपाल, युएई र ओमानबीचको सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले पराजित गरेको हो।

२०१ रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले ४८.२ ओभरमा अल आउट गर्दै १६३ रनमा समेटेको हो।

युएईलाई सस्तोमै अल आउट गर्दा करण केसीले ४ विकेट लिए। ९.२ ओभर बलिङ गरेका उनले १९ रन मात्रै खर्चिए।

सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिए।

युएईका लागि हरप्रित सिंहले ३९ रन बनाएका थिए। उनले ५२ बलमा ५ चौका प्रहार गरे। कप्तान मोहम्मद वासीमले ३४ रन बनाउँदा अक्सदीप नाथले ३० रन बनाए। आयान्स शर्मा र निलान्स केश्वानीले १८/१८ रन जोडेका थिए। अन्य ब्याटरहरू नेपाली बलरसामू टिक्न सकेनन्।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमै अल आउट हुँदै २०० रन बनाएको थियो।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले ९० बल खेलेर ७५ रन बनाए। त्यस क्रममा ५ चौका र २ छक्का प्रहार गरे।

कुशल भुर्तेलले २५ बल खेलेर २४ रन बनाए। करण केसीले २२, बसिर अहमदले २० तथा आरिफ शेख र सोमपाल कामीले १५र१५ रन बनाए भने भीम सार्कीले १० रन मात्रै बनाए।

कप्तान रोहित २ रनमै आउट भएका थिए। बलिङतर्फ युएईका जुनेद सिद्धिकी र अजय कुमार ३र३ विकेट लिए। खुजाइमा तनवीरले २ तथा हैदर अली र मोहम्मद शाहदादले एक(एक विकेट लिए।

नेपालले दोस्रो खेल ओमानसँग बुधबार खेल्नेछ। दुवै टिमसँग २र२ खेल खेलेपछि नेपालले लिग-२ अन्तर्गत नै स्कटल्याण्ड र अमेरिकासँगको सिरिज घरेलु मैदानमै खेल्नेछ।

खेल वैशाख २९ देखि जेठ ८ सम्म हुनेछ। यस हिसाबमा नेपाल आफ्नो विश्वकप २०२७ को यात्राको एक महत्त्वपूर्ण र निर्णायक मोडमा आइपुगेको छ। आगामी आठ खेलको यात्राले नै नेपालको विश्वकप छनोटको भविष्य र सम्भावित बाटो निर्धारण गर्ने देखिन्छ।

लिग-२ को अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका अमेरिका ९पहिलो० र स्कटल्याण्ड (दोस्रो) सँग प्रतिस्पर्धा गर्नु पर्ने भएको हुँदा नेपालले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ। घरेलु मैदानमा हुने यो सिरिज नेपालका लागि विश्वकप छनोटको दौडमा निकै महत्त्वपूर्ण हुनेछ। यहाँको प्रदर्शन खराब भएमा छनोट प्रक्रिया थप जटिल बन्नेछ।

प्रतिक्रिया दिनुहोस्