एसइई परिक्षा भोलिदेखि सुरू हुँदै, पाँच लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी हुँदै
काठमाडौं, १८ चैत। यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलिदेखि सुरू हुँदैछ। परीक्षा चैत २९ गतेसम्म चल्नेछ।
परीक्षा सकिएको ३ दिनभित्रै विद्यार्थीका उत्तरपुस्तिका परीक्षण गर्ने तयारी छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले यसपालि उत्तरपुस्तिका ३ दिनभित्रै परीक्षण गर्ने र एक महिनाभित्रै परीक्षाफल (रिजल्ट) निकाल्ने तयारी रहेको जानकारी दिए।
राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सकिएको ३ दिनभित्रै परीक्षण र एक महिनाभित्र रिजल्ट निकाल्ने गरी कार्यतालिका नै बनाएर सर्कुलर गर्ने तयारी गरेको हो।
‘परीक्षा केन्द्रहरूमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाउन लागिएको छ,’ सापकोटाले भने। विगतका वर्षहरूमा उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा संकलन गरी जिल्ला तथा प्रदेशमा परीक्षण गर्ने गर्दा परीक्षाफल प्रकाशनमा ढिलाइ हुने गरेको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसइई परीक्षाको उत्तरपुस्तिका छिटो परीक्षण गरी एक महिनाभित्रै परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएका थिए। सोअनुसार राष्ट्रिय परीक्षा बोर्डले छोटो समयमै परीक्षाफल निकाल्ने गरी तयारी गरेको छ।
उत्तरपुस्तिका परीक्षण गरेर जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले प्राप्ताङ्क बोर्डमा पठाउनेछ। बोर्डले इन्ट्री तथा रूजु गरी परीक्षाफल प्रकाशित गर्नेछ। बोर्डका अनुसार वैशाख मसान्तसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी छ।
यसपालि एसइई परीक्षाका लागि कूल १ हजार ९ सय ६६ वटा परीक्षा केन्द्र छ भने पाँच लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन्।














प्रतिक्रिया दिनुहोस्