दुई मुलुकका जनताको आर्थिक तथा सामाजिक सम्बन्धलाई अझै बलियो बनाउने भ्रमणको उद्देश्यः राष्ट्रपति भण्डारी

काठमाडौं । युएईस्थित नेपाली दूतावासद्वारा बुधबार आयोजित रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स(युएई) को भ्रमण गर्नुमा दुई मुलुकबीचको सम्बन्धलाई थप घनिष्ट बनाउने, नयाँ उचाइमा पु¥याउने, दुई मुलुकका जनताको आर्थिक तथा सामाजिक सम्बन्धलाई अझै बलियो बनाउने बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले युएईमा कार्यरत नेपाली जनतालाई मुलुक स्थायित्व तथा शान्तिपूर्ण अवस्थातर्फ गएको र मुलुकमै बसी काम गर्नसक्ने वातावरण बन्दै गएको समेत बताइन् ।

राष्ट्रपतिले युएईमा दुई लाखभन्दा बढी नेपाली जनताले रोजगारी गरी नेपाल सरकार तथा नेपाली जनतालाई सहयोग गरिरहेकाले उनीहरु आफ्नै लगानी तथा खर्चमा नेपालका लागि सद्भावना तथा मानार्थ दूत भएको बताउँदै उनीहरुको काम, कर्तव्य र व्यवहारले दुई मुलुकबीचको सम्बन्धलाई अझै बलियो बनाउनसक्ने र यहाँ सिकेको सीप तथा पूँजी नेपालमै उपयोग गरी अझै बढी योगदान दिन सकिनेमा पनि जोड दिईन् ।

 

राष्ट्रपति भण्डारीले यस मुलुकमा नेपालका राष्ट्रपतिको रुपमा आफूले पहिलो भ्रमण गरेको बताउँदै नेपाली समुदायले पटकपटक उठाएका समस्या तथा नेपाल सरकारले पनि महसुस गरेका समस्याका विषयमा पनि यहाँका उच्चतहसँग छलफल भएको बताउँदै यो भ्रमण सफल तथा फलदायी रहेको उल्लेख गरिन ।

 

कार्यक्रममा युएईका लागि नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले राष्ट्रपति भण्डारी तथा नेपाली समुदायलाई स्वागत गर्दै आफूले यहाँ रोजगारमा रहेका नेपाली जनताले भोगेका समस्याका विषयमा धेरैपटक सरकारी तथा नेतृत्वस्तरमा अवगत गराउँदै समस्या समाधानार्थ प्रयास गरेको बताए । कार्यक्रममा नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वीको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्