आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिए पनि अर्थतन्त्रका सामु अझै ठूला चुनौती छन्: अर्थमन्त्री रामेश्वर खनाल

काठमाडौं, ४ चैत । अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएपछि मुलुकका सामु ठूला चुनौतीहरु रहेको बताएका छन् ।

नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सव समारोहलाई बुधवार सम्बोधन गर्दै उनले अर्थमन्त्री खनालले मुलुकका समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिए पनि अर्थतन्त्रका सामु अझै ठूला चुनौतीहरू रहेको बताएका हुन् ।

उनकाअनुसार बैंकमा रहेको ठूलो परिमाणको निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु अर्थतन्त्रको प्रमुख समस्या बनेको छ । मध्यपूर्व र खाडी मुलुकमा देखिएको संकटका कारण नेपालको आपूर्ति श्रृंखला अवरुद्ध हुने र आयातित वस्तुको मूल्य बढ्नसक्ने सम्भावना रहेको पनि उनले उल्लेख गरे । यसले औद्योगिक उत्पादनको लागत बढाएर समग्र अर्थतन्त्रमा असर पार्नसक्ने भन्दै त्यसप्रति सबै पक्ष सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । यस्तो परिस्थितिमा केही विषयमा द्रुत गतिले निर्णय लिनुपर्ने आवश्यकता रहेको पनि अर्थमन्त्री खनालले औँल्याए ।

अर्थमन्त्री खनालले मुलुक अहिले सरकार परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आउने नयाँ सरकारले वाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्दै अर्थतन्त्रलाई अघि बढाउने विश्वास व्यक्त गरे ।

उनकाअनुसार अहिले समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक अवस्था देखिएको छ । नेपालमा शोधनान्तर वचतमा रहेको, चालु खाता पनि वचतमा रहेको, विदेशी मुद्राको सञ्चिति राम्रो रहेको र मुद्रा स्फीति दर कम रहेको जस्ता सूचकहरू सुधारका संकेत हुन् । त्यसैगरी नेपाल सरकारको राजश्व वृद्धिदर कम्तीमा चार प्रतिशत पुगेको र लक्ष्यको तुलनामा करिव ८३ प्रतिशत राजश्व संकलन भएको छ । यद्यपि यी सुधारहरू पर्याप्त नभएको उनको भनाइ छ ।

अर्थमन्त्री खनालले भने–‘अहिले मुलुकका सामु सूचकहरुले सकारात्मक अवस्था देखाएपनि ठूला चुनौतीहरु छन् । हामीसँग रहेको निष्कृय पुजीलाई उत्पादनशिल काममा लगानी गर्न सकेका छैनौँ । मध्यपूर्व र खाडी मुलुकमा आएको संकटका कारण हाम्रो आपूर्ति श्रृंखला अवरुद्ध हुने र कतिपय आयात गर्ने वस्तुहरुको मूल्य बढ्न जाने र त्यस गर्दा हाम्रो औद्योगिक उत्पादनसँगै अर्थतन्त्रको लागत पनि बढ्न जाने सम्भावना देखिएको छ । त्यसका निम्ति हामी सबै सचेत हुन जरुरी छ । कतिपय कुरामा द्रुत गतिले निर्णय गर्नुपर्नेछ । हामी सरकार परिवर्तनको संघारमा छौँ । मलाई विश्वास छ, शक्तिशाली बहुमतसहित आएको आगामी सरकारले वाह्य क्षेत्रबाट उत्पन्न भएका चुनौतीलाई सामना गर्दै अघि बढ्नेछ । समष्टिगत आर्थिक परिसूचकहरुमा सकारात्मक संकेत देखिएको छ । खासगरी शोधान्तर वचतमा छ, चालु खाता वचतमा छ, विदेशी मुद्राको सञ्चिति राम्रो छ । मुद्रा स्फ्रीतिको दर कम छ । नेपाल सरकारको राजश्वको वृद्धिदर कम्तिमा चार प्रतिशत पुगेको छ । लक्ष्यको तुलनामा करिव ८३ प्रतिशत संकलन भएको छ । केही सुधार भएको छ तर यो पर्याप्त छैन ।’

मुलुकमा पर्याप्त रोजगारी सिर्जना नहुँदासम्म, निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा परिचालन नहुँदासम्म, लगानीकर्ताको हातमा पुँजी पुग्ने वातावरण सहज नहुँदासम्म र लगानीकर्तामा आत्मविश्वास नबढेसम्म केवल सकारात्मक सूचकका आधारमा मात्र सन्तुष्ट हुन नसकिने अर्थमन्त्री खनालले स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्