निर्वाचन प्रहरीलाई खाली हात घर नफर्काउन प्रधानमन्त्री सुशीला कार्कीसँग कांग्रेसका नेता महरको आग्रह

काठमााडौं, २५ फाग्न । नेपाली कांग्रेसका नेता नैनसिंह महरले निर्वाचन प्रहरीलाई खाली हात घर नफर्काउन प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेका छन् । मंगलबार फेसबुकमार्फत प्रधानमन्त्री कार्कीलाई सम्बोधन गरिएको पत्रमार्फत महरले निर्वाचन प्रहरीलाई बिदाइपछि पनि सीप र उद्यमशीलतासँग जोड्न माग गरेका छन् ।

‘राष्ट्रलाई आवश्यक पर्दा सुरक्षाको जिम्मेवारी बोक्ने ती युवाहरू निर्वाचनको भोलिपल्टै बेरोजगार भई रित्तो हात घर फर्किनुपर्ने र अन्ततः वैदेशिक रोजगारीको अँध्यारो सुरुङमा भासिनुपर्ने विडम्बनापूर्ण यथार्थ हाम्रोसामु छ,’ महरले पत्रमार्फत भनेका छन् ।

राज्यले युवाहरूलाई केही दिनको रोजगारी दिएर बिदाइ गर्नुको सट्टा उनीहरूको बिदाइलाई ‘बेरोजगारीको सुरुवात’ नभई ‘उद्यमशीलताको प्रस्थान बिन्दु’ बनाउनुपर्ने महरले उल्लेख गरेका छन् ।

यसका लागि युवाहरूको रुचि र स्थानीय सम्भाव्यताका आधारमा आधुनिक कृषि, पर्यटन, प्राविधिक सीप र घरेलु उद्योगजस्ता तालिम दिनुपर्ने र उद्यमका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

‘निर्वाचन प्रहरी उद्यमशीलता रूपान्तरण कार्यक्रम’ ल्याउन नेता महरको माग छ । जसका लागि गृह, श्रम, उद्योग र अर्थ मन्त्रालयको समन्वयमा तत्काल सो कार्यक्रम मन्त्रिपरिषद्बाट पारित गरी देशव्यापी रूपमा लागू गर्न जोडदार माग गरेका छन् ।

महर डडेलधुरामा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । उनी रास्वपाका ताराप्रसाद जोशीसँग पराजित भए ।

प्रतिक्रिया दिनुहोस्