लर्निङ् रियल्म इन्टरनेशनल (LRI) ले ३८औँ वार्षिकोत्सवकमा “बाल संसद” को नमुना सत्र
काठमाडौँ। लर्निङ् रियल्म इन्टरनेशनल (LRI) ले ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरभित्र स्थापना गरिएको “बाल संसद” को नमुना सत्र भव्य रूपमा सम्पन्न गरेको छ। नेपालमै विद्यालयस्तरमा नियमित रूपमा सञ्चालन हुने यस्तो नमुना संसद अभ्यास उक्त विद्यालयमा मात्र सञ्चालन हुँदै आएको दाबी गरिएको छ। विद्यार्थीहरूलाई नेतृत्व विकास, संसदीय अभ्यास, तर्क–वितर्क क्षमता, निर्णय प्रक्रिया तथा लोकतान्त्रिक मूल्य–मान्यताबारे व्यवहारिक अनुभव दिलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।

संघीय संसदका पूर्व महासचिव भरतराज गौतमले कार्यक्रमको उद्घाटन गर्दै संसद सञ्चालन प्रक्रिया, लोकतान्त्रिक अभ्यासको महत्व तथा युवापुस्ताको भूमिकाबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो। विद्यार्थीले आफैं सभामुख, प्रधानमन्त्री, मन्त्री तथा प्रतिपक्षको भूमिकामा रहेर प्रस्तुत गरेको कार्यसम्पादनको प्रशंसा गर्दै उहाँले यस्ता अभ्यासले भविष्यका सक्षम नेतृत्व निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।

पूर्व महासचिव गौतमले विद्यालयमा यसवर्ष विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गर्दै विद्यालयले बालबालिकाको समग्र विकासका लागि गरेको प्रयास उदाहरणीय र प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।
नमूना संसद सत्रमा विद्यार्थीहरूले समसामयिक विषयहरूमा प्रस्ताव पेश गर्दै पक्ष–विपक्षमा धारणा राखेका थिए। संसदको कार्यसूची, समय व्यवस्थापन, नियमावली पालना र अनुशासनका पक्षमा विद्यार्थीको सक्रियता थियो। कार्यक्रमले नेपालको संघीय संसदको झल्को दिएको उपस्थित अभिभावक तथा अतिथिहरूले प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा विद्यालयका प्रमुख गुठियार डा. यशोधरा पन्त, निर्देशक डा. देवकान्त जोशी तथा प्राचार्य बादल प्रधानको विशेष उपस्थिति रहेको थियो।
संसदमा सहभागी विद्यार्थीका अभिभावकको पनि उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा अभिभावकले विद्यालयले अध्ययनसँगै व्यवहारिक तथा नेतृत्वमूलक गतिविधिमा दिएको प्राथमिकताको प्रशंसा गरेका थिए।
सोही अवसरमा प्राचार्य बादल प्रधानले यस्तो प्रकारको कार्यक्रमले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले विद्यालयले आयोजना गर्दै आएको यस प्रकारको गतिविधिले विद्यार्थीको नेतृत्व क्षमता, आत्मविश्वास तथा सार्वजनिक बोल्ने सीप अभिवृद्धि गर्न ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी निर्देशक डा. देवकान्त जोशीले “हामीले बाल संसद किन स्थापना गर्यौँ भने, यो पूर्ण रूपमा विद्यार्थीहरूका लागि बनाइएको अभ्यास हो। यस्तो अभ्यास हाम्रो विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ, जुन हाम्रो लागि गर्वको विषय हो,” भनी आफ्नो धारणा व्यक्त गर्नुभयो।
विद्यालयका अनुसार बाल संसद कार्यक्रम विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको छ र यसले विद्यार्थीहरूमा आत्मविश्वास, सार्वजनिक बोल्ने कला, समूहकार्य तथा जिम्मेवारी बोध विकास गर्न सहयोग पुर्याएको छ। यस प्रकारका अभ्यासले विद्यार्थीहरूलाई भविष्यमा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास गरिएको छ।
विद्यालयमा यसवर्ष विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। उक्त अवसरमा उत्कृष्ट विद्यार्थीको नाम घोषणा तथ उनीहरूको उपलब्धिको समीक्षा गरिएको थियो।
बाल संसदको नमुना सत्रले विद्यार्थीलाई वास्तविक संसदको अनुभूति गराउनुका साथै लोकतान्त्रिक अभ्यासप्रति जागरूक बनाएको सहभागीको धारणा छ। विद्यालयले विगतका दिनमा पनि यस्ता रचनात्मक तथा नेतृत्व विकासमुखी कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरीरहेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने विद्यालयका प्रमुख प्रसाशकिय अधिकृत तथा सूचना अधिकारी दिपक जोशीले जानकारी दिनुभयो ।















प्रतिक्रिया दिनुहोस्