आपूर्ति निरन्तर भइरहेको छ, त्यसैले उपभोक्ता आत्तिनुपर्ने कुनै कारण छैन: नेपाल आयल निगम
काठमाडौं, २१ फागुन । इरानमाथि अमेरिका र इजरायलले शनिबार संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि मध्यपूर्वको स्थिति थप तनावपूर्ण अवस्था आएसँगै विश्वव्यापी पेट्रोलियम आपूर्ति र मूल्यमा गम्भीर असर पार्ने देखिएको छ ।
इरान विश्वका प्रमुख कच्चा तेल उत्पादक राष्ट्रमध्ये एक हो र यसले विशेषगरी चीन, भारत, ओमान र अफगानिस्तान जस्ता देशमा ठूलो परिमाणमा कच्चा तेल निर्यात गर्दै आएको छ ।
मध्यपूर्वमा उत्पन्न यो नयाँ संकटले विश्वको सबैभन्दा व्यस्त तेल व्यापारिक मार्ग, स्ट्रेट अफ हर्मुजबाट हुने आपूर्तिमा बाधा पुग्न सक्ने चिन्ता बढेको छ । द्वन्द्व सुरुवातसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशतसम्म वृद्धि भइसकेको छ ।
नेपाल आफ्नो सम्पूर्ण पेट्रोलियम पदार्थको आपूर्तिका लागि भारतमा निर्भर छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) मार्फत प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्ने गर्छ ।
भारतले आफ्नो आवश्यकताको ठूलो हिस्सा मध्यपूर्वबाट आयात गर्ने भएकाले त्यहाँको आपूर्ति श्रृङ्खलामा आउने कुनै पनि अवरोधले भारतको आयात प्रभावित पार्ने छ ।
भारतबाट नेपाल आउने पेट्रोलियम पदार्थ आपूर्तिमा समेत कमी आउन सक्ने भन्दै यसले मुलुकमा पनि पेट्रोलियम पदार्थ अभाव हुन सक्ने हो कि भन्ने आशंका उपभोक्तामा बढेको छ ।
लगातार बिदा परेकाले अभाव हुने हो कि भनेर हिजो आइतबार बिहानैदेखि काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा पेट्रोल र डिजेल भर्नेको भिडभाड बढेको छ । र, आयल निगमले भने मध्यपूर्वमा सिर्जित समस्याले नेपालमा पेट्रोलियम पदार्थ आपूर्तिमा तत्कालै कुनै पनि समस्या नपर्ने बताएको छ ।
निगम प्रवक्ता मनोज ठाकुरले पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै समस्या नभएको र उपभोक्ता अनावश्यक आत्तिनुपर्ने अवस्था नरहेको बताए ।
ठाकुरले बजारमा देखिएको लाइन मनोवैज्ञानिक त्रासका कारणमात्र भएको तर्क गरे । ‘पेट्रोलियम पदार्थ अभाव हुने हो कि भन्ने उपभोक्तामा देखिएको मनोवैज्ञानिक त्रास मात्रै हो,’ प्रवक्ता ठाकुरले भने, ‘हाम्रो पाइपलाइन चौबिसै घण्टा चलिरहेको छ र आपूर्ति निरन्तर भइरहेको छ, त्यसैले उपभोक्ता आत्तिनुपर्ने कुनै कारण छैन ।’
मध्यपूर्वमा हालै बढेको तनावले नेपालमा इन्धन आपूर्तिमा असर पर्ने हो कि भन्ने आशंकामा कुनै सत्यता नभएको र आपूर्ति प्रणालीमा तत्काल कुनै प्रभाव नपर्ने उनको दाबी छ ।
प्रवक्ता ठाकुरका अनुसार नेपालले आफ्नो आवश्यकता अनुसार इन्धन माग अग्रिम भारतलाई पठाइसकेको हुन्छ र सोही अनुसार आपूर्ति हुने गर्छ ।
‘अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार भारतसँग १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण हुन्छ,’ उनले भने, ‘अहिले १५ दिनको मूल्य निर्धारण भएर आइसकेको छ, सोही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिमा कुनै समस्या हुँदैन ।’
प्रवक्ता ठाकुरका अनुसार नेपालको कुल वार्षिक पेट्रोलियम खपत भारतको एक दिनको खपत बराबर मात्रै हो । नेपालमा दैनिक करिब २ हजारदेखि २ हजार ५ सय किलोलिटर पेट्रोल र ४ हजार किलोलिटर डिजेल खपत हुने गरेको छ ।
‘हाम्रो दैनिक माग अनुसार भारतबाट निरन्तर तेल आइरहेको छ, हाम्रो २४ घण्टामा पाइपलाइनबाट करिब ६ हजारदेखि ७ हजार किलोलिटर तेल आपूर्ति भइरहेको हुन्छ,’ उनले थपे ।
आगामी निर्वाचन र त्यससँगै आउने सार्वजनिक बिदाका दिनहरूमा पनि पेट्रोलियम पदार्थ अभाव हुन नदिन निगमले विशेष व्यवस्था गरेको बताएको छ । ‘हामीले बिदाका दिनमा पनि थानकोट डिपो खुला राखेका छौं,’ उनले भने, उपभोक्तालाई तेल अभाव हुन दिँदैनौं ।’
हालैको बिदाका कारण काठमाडौं उपत्यकामा खपत केही बढेको देखिएको छ । सामान्यतया काठमाडौंमा दैनिक ८ सय किलोलिटर पेट्रोल र ८ सय किलोलिटर डिजेल खपत हुने गरेकोमा हिजो आइतबार बढेर १ हजार ६ सय ५० किलोलिटर पेट्रोल र १ हजार २ सय ५० किलोलिटर डिजेल बिक्री भएको छ । माग बढे पनि सोही अनुसार आपूर्ति भइरहेको निगमले जनाएको छ ।
जेरी क्यानमा तेल नबेच्न निर्देशन
आयल निगमले सुरक्षा जोखिम ध्यानमा राख्दै सवारीसाधन बाहेक जेरी क्यान, बोतल र अन्य भाँडामा पेट्रोलियम पदार्थ बिक्री नगर्न सबै डिलरहरूलाई पत्राचार गरिसकेको छ ।
निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टका अनुसार आसन्न निर्वाचनका बेला समेत पेट्रोलियम पदार्थ आपूर्ति सहज रहने र अनावश्यक सञ्चयले आगलागी जस्ता दुर्घटनाको जोखिम बढाउने भएकाले यस्तो निर्णय लिइएको हो ।
‘पेट्रोलियम पदार्थ अतिप्रज्ज्वलनशील पदार्थ हो, यसलाई घरमा जथाभावी भण्डारण गर्दा ठूलो दुर्घटना निम्तिन सक्छ,’ उनले भने, ‘त्यसैले यस्तो कार्य नगर्न हामीले सबैलाई सचेत गराएका छौं ।’
निगमले सम्भावित आगलागी जोखिम न्यूनीकरण गर्न उपभोक्तालाई आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न पनि अनुरोध गरेको छ ।
अनावश्यक सञ्चयले एकातिर बजारमा कृत्रिम अभाव सिर्जना गर्न सक्ने र अर्कातिर भण्डारणमा सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने खतराप्रति निगमले सचेत गराएको छ ।
निगम प्रवक्ता ठाकुरले बजार अनुगमनका लागि दुइटा टोली पनि खटाइएको बताए ।














प्रतिक्रिया दिनुहोस्