सार्वजनिक बिदाका दिनमा पनि आयल निगमका प्रादेशिक कार्यालय तथा डिपो खुला हुने
काठमाडौं, १७ फागुन। नेपाल आयल निगमले सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा पेट्रोलियम पदार्थ आपूर्ति र वितरण प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने निगमले जनाएको हो ।
सरकारले निर्वाचनका लागि २० देखि २२ फागुनसम्म देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेका सन्दर्भमा इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न निगमले यस्तो विशेष व्यवस्था गरेको जनाएको छ । ।
निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर फागुन २२ र २४ गते खुला रहने छ भने मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज फागुन १९, २० र २३ गते सञ्चालनमा आउने छ ।
त्यसैगरी बाग्मती प्रादेशिक कार्यालय थानकोटले बिदाको दिन १८ फागुनमा पेट्रोलियम पदार्थ बिक्री गर्ने छ भने २० र २३ गते खुला रहने छ । उताऽ गण्डकी प्रादेशिक कार्यालय पोखरा फागुन २०, २३ र २४ मा खुला रहनेछन् । लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा भने फागुन १७, १८, २० र २३ गते सञ्चालन हुने निगमले जनाएको छ ।
यसैगरी कर्णाली प्रादेशिक कार्यालय सुर्खेत फागुन १८ र २० गते तथा सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी फागुन १९, २० र २२ गते खुला रहने व्यवस्था मिलाइएको छ ।
अन्य डिपो तथा शाखाका हकमा धनुषा महेन्द्रनगर इन्धन डिपो फागुन २२ र २४ गते, नेपालगञ्ज डिपो २० र २२ गते, झापा चारआली शाखा २२ र २४ गते तथा वीरगञ्ज शाखा कार्यालय फागुन २०, २२, २३ र २४ गते खुला रहनेछन् ।
इन्धन आपूर्ति र वितरण क्रममा कुनै समस्या आए वा समन्वय गर्नुपरे निगमले प्रत्येक कार्यालयका लागि जिम्मेवार अधिकारी र उनीहरूको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ । यसले आपूर्तिलाई सहज हुनेछ ।














प्रतिक्रिया दिनुहोस्