काँग्रेसमा बागी उम्मेदवारी दिएकालाई अनुशासनको कारबाही गर्ने
काठमाडौं, ८ फागुन । नेपाली काँग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई अनुशासनको कारबाही गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय अनुशासन समिति बैठकले बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि अर्को बैठकबाट कारबाही गर्ने तयारी गरेको हो ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट आएको कार्यसमितिले तारामान गुरुङको संयोजकत्वमा अनुशासन समिति बनाएको थियो । त्यो समितिको शुक्रबार पहिलो बैठक बसेको हो ।
बैठकले अनुशासनको कारबाहीको प्रक्रिया के हुने भन्ने विषयमा समितिको कार्यविधि— २०८२ लाई पारित गरेको छ । त्यही कार्यविधिअनुसार अर्को बैठकबाट उनीहरूलाई कारबाही गर्ने समितिका एक सदस्यले जानकारी दिए ।
कांग्रेसका ३ नेताले दिएको बागी उम्मेदवारी फिर्ता लिएका छैनन् । कांग्रेसबाट कपिलवस्तु–१, सप्तरी–४ र पर्सा ४ मा बागी उम्मेदवार छन् ।
कपिलवस्तु १ मा आषिश शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, भारतका लागि पूर्वराजदूत र पूर्वमन्त्री दीपकुमार उपाध्यायका छोरा हुन् ।
ब्चनजबपजबअजष् ऋझभलत
सप्तरी ४ मा पार्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति सिताराम शाहले उम्मेदवारी दिएका छन् । टिकटका आकाङ्क्षी साहले पार्टीले तेजुलाल चौधरीलाई उम्मेदवार बनाएपछि विरोधमा बागी उम्मेदवारी दिएका हुन् ।
पर्सा ४ मा पार्टीको प्रदेशसभा क्षेत्रीय सभापति रामलखन महतोले बागी उम्मेदवारी दर्ता गराएका छन् । पछिल्लो समय उनी पार्टीमा भने निष्क्रिय रहेको स्रोतले जानकारी दिएको छ ।
‘बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक र समर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा छलफल भयो,’ बैठकपछि केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसले गर्दा पार्टीको विधि र नीति अनुशानमा बस्न नेता कार्यकर्तालाई निर्देशन गरेको छ ।















प्रतिक्रिया दिनुहोस्