‘फेक माउन्टेन रेस्क्यु’को जालो: रामप्रसाद सापकोटाको पुस्तकले उठाएको सवाल
काठमाडौँ । नेपालको हिमाली पर्यटनसँग जोडिएको हेलिकप्टर उद्धार सेवा पछिल्लो समय विवादको केन्द्रमा परेको छ। पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको कृति ‘आधा शताब्दी’ मा उल्लेख गरिएका अनुभव र तथ्यहरूले तथाकथित ‘फेक माउन्टेन रेस्क्यु’ अर्थात नक्कली उद्धारको जालोबारे गम्भीर प्रश्न उठाएका छन। उनका अनुसार उद्धार सेवाभित्र बिचौलिया, केही हेलिकप्टर कम्पनीका एजेण्ट र निजी अस्पतालबीचको मिलेमतोले पर्यटन क्षेत्रको विश्वसनीयतामाथि असर पारिरहेको छ।
विशेषगरी सगरमाथा क्षेत्र र लुक्लाबाट काठमाडौं फर्किने क्रममा हेलिकप्टर सेवाको माग अत्यधिक हुने गर्दछ। तर उद्धारको स्पष्ट र एकरूप दर नतोकिँदा भाडा मनपरी निर्धारण हुने र बढी रकम तिर्न सक्नेले प्राथमिकता पाउने ‘अदृश्य प्रणाली’ विकास भएको आरोप छ। यसले पारदर्शिता र समान पहुँचको सिद्धान्तलाई चुनौती दिएको सापकोटाले उल्लेख गरेका छन।
अझ चिन्ताजनक विषय भनेको सामान्य स्वास्थ्य समस्या भएका पर्यटकलाई पनि उद्धार आवश्यक भएको भन्दै कागजी प्रक्रिया मिलाएर काठमाडौं ल्याउने प्रवृत्ति हो। यस क्रममा बीमा दाबी, अस्पताल समन्वय र बिचौलियाको भूमिका रहने आशंका व्यक्त गरिएको छ। यस्तो कार्यले बीमा कम्पनीलाई आर्थिक क्षति पुर्याउनुका साथै नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दीएको छ।
सापकोटाले आफूले यस्ता विकृतिको विरोध गरे पनि सुधारका लागि राज्य संयन्त्र सक्रिय नदेखिएको गुनासो गरेका छन। छानबिन समिति गठन गर्ने तर दीर्घकालीन समाधान नखोज्ने प्रवृत्तिले समस्या ज्यूँका त्यूँ रहेको उनको भनाइ छ। विपत्तिका बेला सर्वसाधारण नागरिकसमेत हेलिकप्टर सेवाबाट वञ्चित हुने अवस्था देखिएको उल्लेख गर्दै उनले बिचौलियामुक्त र पारदर्शी प्रणालीको आवश्यकता औँल्याएका छन।
समाधानका रूपमा उनले सगरमाथा क्षेत्रका बिरामी पर्यटकको उपचार पहिलो चरणमा लुक्लाको सरकारी अस्पतालमै हुनुपर्ने सुझाव दिएका छन। त्यहाँ उपचार सम्भव नभए मात्र चिकित्सकको सिफारिसमा काठमाडौंका सरकारी अस्पतालमा रिफर गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। साथै हिमाली क्षेत्रमा सरकारी, पर्यटकमैत्री उपचार केन्द्र स्थापना गरी उपचारबाट संकलित रकम सरकारी ढुकुटीमा जाने सुनिश्चितता गर्नुपर्ने प्रस्ताव गरिएको छ।
बीमा कम्पनीहरूको भूमिकालाई पनि महत्वपूर्ण मान्दै उनले सरकारी अस्पतालले प्रमाणित गरेको बिरामी प्रमाणपत्रलाई मात्र मान्यता दिने व्यवस्था लागू गर्न सके नक्कली उद्धार स्वतः घट्ने विश्वास व्यक्त गरेका छन। यसले अस्पताल, हेलिकप्टर बिचौलिया र बीमा प्रतिनिधिबीचको त्रिपक्षीय अनैतिक सम्बन्ध तोड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
पर्यटन विज्ञहरूका अनुसार उद्धार सेवामा पारदर्शी दर निर्धारण, अनलाइन निगरानी प्रणाली, स्वतन्त्र अडिट तथा बीमा दाबीको कडाइपूर्वक परीक्षण व्यवस्था लागू गर्न सके मात्र दीर्घकालीन सुधार सम्भव हुनेछ। अन्यथा ‘फेक माउन्टेन रेस्क्यु’को बदनाम छायाँले नेपालको पर्यटन क्षेत्रलाई निरन्तर पछ्याइरहनेछ।
सापकोटाको सन्देश स्पष्ट छ -हेलिकप्टर उद्धार जस्तो संवेदनशील क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र कडा नियमन लागू गरिएन भने पर्यटन उद्योगकै भविष्य जोखिममा पर्न सक्छ। राज्य, निजी क्षेत्र र बीमा कम्पनीबीच समन्वयात्मक सुधारमार्फत मात्र नेपालको पर्यटन व्यवसायलाई भरपर्दो र विश्वासिलो बनाउने बाटो खुल्नेछ।















प्रतिक्रिया दिनुहोस्