श्रम स्वीकृति प्राप्त भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रामा निस्कन अध्यागमन विभागको आग्रह

जेष्ठ १७,काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति प्राप्त भएपछि मात्रै वैदेशिक रोजगारीका लागि यात्रा गर्न नेपाली श्रमिकहरूलाई आग्रह गरेको छ।

विभागले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपाली नागरिकहरूले वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिका लागि आवेदन दिएलगत्तै स्वीकृति नपर्खी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा प्रस्थानका लागि आउने गरेको जनाएको छ।

विभागका अनुसार श्रम स्वीकृति प्रक्रिया पूरा नभई वैदेशिक रोजगारीका लागि विदेश जान अनुमति नदिइने भएकाले सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त भएपछि मात्रै विमानस्थल आउन अनुरोध गरिएको हो।

यसले यात्रुहरूलाई अनावश्यक झन्झट तथा समयको नोक्सानीबाट बचाउने विभागको विश्वास छ। विभागले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई आवश्यक कागजात तथा श्रम स्वीकृति सुनिश्चित गरेर मात्र यात्रा प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्