नेप्से सोमबार २६ अंकको गिरावट

काठमाडौं, २६ माघ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार १०.२४ अंक घटेको नेप्से सोमबार २६,०५ अंक घटेको हो ।

आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजार भने नकारात्मक देखिएको छ । निवार्चन समयमा भएको खण्डमा सेयर बजारमा लगानी बढ्ने अनुमान गरिए पनि चुनाव नजिकिएसँगै बजारमा देखिएको नैराश्यताले आमलगानीकर्ताको मनोबल कमजोर बनाएको देखिन्छ ।

सोमबार कारोबार सुरु भएदेखि नै नेप्से निरन्तर ओरालो नै रह्यो । कारोबारको अन्तिम समयमा भने घट्ने क्रममा कमी आएको थियो । सोमबार कारोबार सुरु हुँदा २६९८.४५ अंकमा रहेको नेप्से सूचक २६ अंक घटेर बन्द हुँदा २६७२.३९ मा झरेको छ ।

सोमबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आए पनि समग्र बजार सूचक नकारात्मक भएको हो । नेप्सेमा यस दिन २ सय १२ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ४६ कम्पनीको सेयर मूल्य बढ्दा खानीखोला र रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएन ।

सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक पनि घटेका छन् । यस दिन बैंकिङ १०।६अंक घटेको छ भने विकास बैंक ७९।०७, वित्त ५८।१३ अंक घटेका छन् ।

त्यसैगरी होटल १०४।२०, जलविद्युत् १९।६१, लगानी ०।९५, जीवन बीमा १२५।४२, उत्पादनमूलक ११४।२०, लघुवित्त ३०।०६, सामूहिक लगानी कोष ०।१०, निर्जीवन बीमा १५९।१७ र अन्य समूह ४६।७५ अंक घटेका छन् । तर, सोमबार नेप्सेमा कारोबार भएको व्यापार समूहमात्र ९।०१ अंक बढेको छ ।

सोमबार नेप्सेमा ३ सय २४ कम्पनीको १ लाख २ हजार २ सय ८१ कारोबारबाट २ करोड ६७ लाख ६६ हजार ३ सय ४७ कित्ता सेयर १० अर्ब ७७ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो । आइतबार नेप्सेमा ११ अर्ब ५९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्