पुसमा मात्रै करिब २ खर्ब रेमिट्यान्स भित्रियो

काठमडौं, १९ माघ । यस चालु आर्थिक वर्ष पुसमा मात्रै करिब २ खर्ब रेमिट्यान्स भित्रिएको छ । चालु आव ६ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अुनसार सोही अवधिमा भित्रिएको कुल रेमिट्यान्स १० खर्ब ६२ अर्ब पुगेको छ । अमेरिकी डलर बलियो हुँदा नेपाल भित्रिने रेमिट्यान्स बढेको हो ।

अमेरिकी डलर तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदै आएको छ । एक अमेरिकी डलर बराबर १ सय ४६ रुपैयाँ पुगेको छ । त्यसले गर्दा पनि रेमिट्यान्स आप्रवाह धेरै भएको हो । साथै, रेमिट्यान्स थोरै पठाउँदा पनि बढेको समयमा धेरै पठाउने गर्छन । त्यसले पनि रेमिट्यान्स वृद्धिमा थप मद्दत पुगेको हो ।

गत आव पुसम्ममा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । २०८२ पुसमा विप्रेषण आप्रवाह १ खर्ब ९१ अर्ब ६२ करोड छ । गत आव सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड थियो ।

चालु आव ६ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ । गत आव यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।

चालु आव पुससम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड थियो । चालु आव पुससम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ८ सय ७ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७ सय ३३ छ ।

गत आव सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३० हजार ४ सय ३९ र १ लाख ६२ हजार ६ सय २८ थियो ।

यसले गर्दा नेपालको विदेशी मुद्राको संचिती पनि बढेको छ । आर्थिक विकासको मुख्य आधार नै रेमिट्यान्स बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्