कानून नमान्ने र राज्यलाई धोका दिने जोसुकै भए पनि कारबाही हुन्छ : गृह मन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाही गर्ने बताएका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कानुन नमान्ने र राज्यलाई धोका दिने ठेकदार धरधनी, सांसद वा ठूला नेता जो भए पनि कारबाही हुने बताए ।

प्रचण्डको घरधनीले नै समयमा काम पूरा नगरेको उदाहरण दिँदै कारबाही गर्नुहुन्छ कि हुन्न भन्ने ? पत्रकारको प्रश्नमा उनले भने ‘घरधनी होस, सांसद होस वा ठूलै नेता किन नहोस, कानुन मान्दैन, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’ ठेकेदारले समयमा काम पूरा नगरेमा वा ठेक्काको अवहेलना गरेमा त्यसलाई सरकारले गैरकानुनी र ठगी ठान्ने भन्दै गृहमन्त्री थापाले त्यस्ता सबैलाई कारबाही हुने बताए ।

यस्तै,गृहमन्त्री थापाले सुनकाण्डमा माछा मार्ने क्रम जारी रहेको पनि बताएका छन् । पत्रकार सम्मेलनमा उनले साढे ३३ किलो सुन तस्करी काण्डमा संलग्नहरु एक पछि अर्को गर्दै पक्राउ परिरहेका र नयाँ तथ्यहरु खुलिरहेको बताएका छन् ।
‘माछा मार्ने क्रम जारी छ । साना र मझौला माछा परेका छन्’ उनले भने ‘अनु्सन्धान जारी छ । त्यसैले आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।’

गृहमन्त्री थापाले मंगलबार पनि गोरेका एक सहयोगी पक्राउ परेको भन्दै माछा मार्ने क्रम जारी रहेको बताएका हुन् । ‘हिजो पनि एउटा माछा परेको छ । माछा मार्ने क्रम जारी छ ।’

 

प्रतिक्रिया दिनुहोस्