सरकारको ध्यान गुणस्तरीय बालशिक्षामा केन्द्रित : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि सरकार प्रतिबद्ध रहेको प्रस्ट पारेका छन् । प्रारम्भिक बालशिक्षाबारे मंगलबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले अब सरकारको ध्यान गुणस्तरीय बालशिक्षामा केन्द्रित भएको बताए ।

विकाससँगै शैक्षिक क्षेत्रका सबै कार्यक्रमलाई अगाडि बढाइने बताउँदै प्रधानमन्त्री ओलीले अब कोही पनि बालबालिका शिक्षाबाट बन्चित नहुने दाबी गरे । प्रारम्भिक शिक्षा सबैका लागि निःशुल्क हुने भन्दै उनले सरकारले ग्रामीणमुखी शिक्षामा जोड दिइएको स्पस्ट पारे ।

पाँच वर्षभित्र नै बालबालिको मस्तिष्कको तीव्र वृद्वि हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रारम्भिक सिकाइमै जोड दिनुपर्ने बताए । उनले यही वर्षदेखि सरकारले बालशिक्षामा पर्याप्त बजेट विनियोजन गरेको जिकिर पनि गरे ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा ८४ प्रतिशतले शिक्षा सेवा पाएको भन्दै यो एसिया प्रशान्त क्षेत्रको अनुपातमा ६९ प्रतिशत भएको बताए ।

तीनदिने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका बालबालिकाको सिकाइ र अधिकारकोबारेमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्