लगानीका लागि अहिले उचित समय, निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति व्यवसायीको मात्र सोच्नु गलत: अर्थमन्त्री खनाल
काठमाडौंं, १६ पुस । अर्थमन्त्री रामेश्वर खनालले लगानीका लागि अहिले उचित समय रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले निजी क्षेत्रले जेनजी आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै निजी क्षेत्रले फेरि उठ्ने बताए । अहिले अर्थतन्त्र सकारात्मक रहेको, मूल्यवृद्धि न्युन रहेको, चालु खाता वचतमा रहेकाले यो समय लगानीका लागि उपयुक्त हो । निजी क्षेत्र अर्थतन्त्रको इन्जिन भएको बताए ।
उनले भने, ‘निजी क्षेत्रले जेनजी आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपर्यो । निजी क्षेत्रले फेरि उठ्छौँ भन्नुभएको छ । अर्थतन्त्र सकारात्मक नै छ । मूल्यवृद्धि न्युन छ, चालु खाता वचतमा छ, लगानीका लागि यो उपयुक्त समय छ । हामी खरानीबाट उठ्छौं भन्दै गर्दा थुप्रै सुधारका कुराहरु पनि भएका छौं । वृहत रुपमा संवाद जरुरी छ । निजी क्षेत्रको महत्व र निजी लगानीलाई संरक्षण गर्न जरुरी छ । निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो । निजी क्षेत्रको सम्पत्ति क्षति हुनुभनेको राष्ट्रको क्षति हुनु हो । उनीहरुले गर्ने नाफा सबैतिर वितरण भएको छ । यति हुँदाहुँदैपनि प्रत्येक पटकको नागरिक विद्रोहमा निजी क्षेत्र निशानामा पर्ने गरेको छ । अब मुलुकभित्र लगानी हुन्छ भने त्यसमा क्षति हुन्छ भने त्यो राष्ट्रको क्षति हो भनेर हामीले सबैलाई बुझाउन जरुरी छ ।’
मन्त्री खनालले निजी क्षेत्रको क्षति मुलुकको क्षति हो भन्नेकुरा सबैलाई बुझाउन जरुरी रहेको बताए ।
निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति केवल उद्योगी–व्यवसायीको मात्र हो भन्ने सोच्नु गलत भएको बताए । राज्यले निजी क्षेत्रको मनोबल उकास्न काम गरिरहेको बताए ।
२७ भदौमा नयाँ सरकार बनेको थियो । उनका अनुसार १ असोजमै सरकारले निजी क्षेत्रसँग छलफल गरेको थियो । यो मनोबल उकास्न गरिएको उनको भनाइ छ ।
निजी क्षेत्रमाथि भएको आक्रमण भोलिका दिनमा दोहोरिनु हुँदैन भन्नेमा आश्वस्त पार्न खोजिएको भन्दै उनले निजी क्षेत्रले पनि फेरि उठ्ने छौं भनी प्रतिबद्धता व्यक्त गरेको स्मरण गरे ।
यसबीच अर्थतन्त्रका धेरैजसो क्षेत्र सकारात्मक रहेको उले बताए । ‘मूल्यवृद्धि न्यून छ, तरलता पर्याप्त छ, विदेशी मुद्रा सञ्चिति पर्याप्त छ, चालु खाता बचतमा छ, लगानीका लागि अनुकूल वातावरण छ,’ उनले भने ।
तर, लगानी वृद्धिको दर कमजोर रहेको उनले बताए । ‘निजी क्षेत्र आफैंले फेरि उठ्छौं भन्दै गर्दा सरकारले समाधान निकाल्ने प्रयत्न गर्दा पनि अझै किन मनोबल बढ्न सकेन रु,’ उनको प्रश्न छ ।
यसबारे छलफल गर्न महासंघले सबै राजनीतिक दल र जेनजी पुस्तासँग छलफल गर्न चाहेको उनको भनाइ छ ।
निजी क्षेत्र अर्थतन्त्रको इन्जिन भएको भन्दै उनले निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राष्ट्रको सम्पत्ति भएको बताए । निजी क्षेत्रमा हुने क्षति राष्ट्रको भएको उनको भनाइ छ ।
‘निजी क्षेत्रले कमाउने नाफाबाट कररराजस्व उठ्छ, कर्मचारीले बोनस पाउँछ, कर्मचारीको आम्दानीको स्तर बढ्छ, समाज सेवा गर्न सीएसआर पाउँछ, नाफा सबैतिर वितरण भएको छ,’ उनले भने, ‘यसमा राजनीतिज्ञ र जेनजी सहमत भएका छन् ।’
यो स्वीकार हुँदाहुँदै हरेक पटक आन्दोलन, विद्रोहमा निजी क्षेत्र पहिलो आक्रमणको निशाना हुनुमा भने प्रश्न उठेको उनको भनाइ छ । यसले सरकार र निजी क्षेत्र वा दल र क्षेत्रबीच मात्र सम्बन्ध बलियो भएर नहुने रहेछ, निजी क्षेत्र र नागरिकबीच पनि बलियो सम्बन्ध आवश्यक छ भन्ने सन्देश लिएको अर्थमन्त्री खनालको भनाइ छ ।
अब मुलुकभित्र जुनसुकै सम्पत्ति सिर्जना हुन्छ भने त्यो समाजको लाभका लागि हो, त्यसमाथि घात गर्नु भन्ने सन्देश समाजका सबै तहमा पुर्याउनु पर्ने उनको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्