शेयर बजार खुल्ला तर, कारोबार भने शून्य

काठमाडौं । बोनस र हकप्रद शेयरमा अंकित मूल्य १ सय रुपैयाँलाई नै आधार मानेर लाभकर लिने आन्तरिक राजश्व विभागको निर्णयविरुद्ध लगानीकर्ताले गरेको आन्दोलनका कारण शेयर बजारमा कुनै कारोबार हुनसकेको  छैन ।

नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र पूँजी बजार लगानीकर्ता संघकोे दवाबका कारण दलालहरुले कुनै पनि अर्डर लिएका छैनन् । जसका कारण यतिबेलासम्म शेयर कारोबार हुन सकेको छैन । लगानीकर्ताहरुले भेला भएर नेपाल स्टक एक्सचेञ्जमा धर्ना दिँदै छन् ।

लगानीकर्ताहरुले सोमवार पनि कारोबार बन्द गर्ने घोषणा गरे पनि ४२ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । तर आज लगानीकर्ताले सेयर कारोबार गराएमा जे पनि हुन सक्ने र त्यसको जिम्मेवार आफैँ हुने भन्दै दलालहरुलाई धम्की दिएका छन्  । लगानीकर्ताहरुको तीन वटै संगठनको संयुक्त बैठकले आन्दोलन जारी राख्ने र लगानीकर्ताको आव्हान विपरीत कसैले शेयर किनबेच गरेमा त्यसबाट उत्पन्न हुन सक्ने घटनाको जिम्मेवारी सम्बन्धित ब्रोकर कम्पनीले नै लिनुपर्ने चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।

सरकारले शेयर बजारमा लगाएको कर अन्यायपूर्ण रहेको भन्दै लगानीकर्ताले सरकारको निर्णय खारेजीको माग गरेका छन् । सरकारले पूँजीगत लाभकर ब्यक्तिगततर्फ पाँच प्रतिशतबाट साढे सात प्रतिशत बनाएको छ भने हकप्रद र बोनस शेयरको अंकित मूल्य १ सय रुपैयाँलाई आधार मानेर पूँजीगत लाभ कर लिने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्