मिसेस् नेपाल युनिभर्स २०१८ को उपाधि श्रेष्ठलाई
काठमाडौ । ई प्लानेट प्रा.लि.ले मनिशा डंगोल श्रेष्ठलाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१८ को उपाधि प्रदान गरेको छ । मनिशाले अब फिलिपिन्सको मनिलामा आगामी डिसेम्बर महिनामा सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१८’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् ।
मिसेस् युनिभर्स २०१८ आगामी डिसेम्बर ३ देखि १० तारिख सम्म फिलिपिन्समा संचालन हुनेछ । राजधानीमा आयोजित एक कार्यक्रमका वीच मिसेस् नेपाल युनिभर्स पुर्व मिसेस् नेपाल दिपा शाही राणा तथा लिटिल मिस वल्र्ड युनिभर्स विषेशता बुडाथोकीले मनिशालाई मिसेस् नेपाल युनिभर्स २०१८ को ताज पहि¥याइ दिएकी हुन् । मिसेस् युनिभर्स २०१८ मा सहभागि हुन जानुपूर्व मनिशाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखिकरण र प्रशिक्षण प्राप्त गर्नेछिन् ।
मिसेस् युनिभर्समा नेपालको यो पहिलो सहभागिता भने होइन । यस अघि ई प्लानेट प्रा.लि.कै संयोजन र व्यवस्थापनमा सन् २०१३ मा मिना घिमिरेले मिसेस् युनिभर्स २०१३ मा सहभागिता जनाएकी थिइन् भने मिना सो प्रतियोगितामा मिसेस् कन्जिन्यालिटी अवार्ड जित्न सफल भएकी थिइन् । यसै गरी २०१४ को मिसेस् युनिभर्समा रजनी थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा रजनीले ब्युटीफुल लेडीको अवार्ड जित्न सफल भएकी थिइन् । यसैगरी मिसेस् युनिभर्स २०१६ मा पद्मिनी झाले नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् ।
आफूलाई फिलान्थ्रोपिष्ट भन्न रुचाउने मनिशा डंगोल श्रेष्ठ दुई सन्तानकी आमा हुन् र विगत एक दशक भन्दा लामो समय देखि उनी विशेषतः विभिन्न तरिका र प्रक्रियाबाट महिला सशक्तिकरणमा संलग्न हुँदै आएकी छिन् । मिस अस्कोल १९९७ का रुपमा पनि परिचय बनाइसकेकी मनिशा हाल लन्डनमा बस्दै आएकी छिन् । लन्डनमै लन्डन फेसन हाउस संचालन गर्दै आएकी उनले सो फेसन हाउस मार्फत् नेपाली फेसन, कला संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तारित गर्न सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छिन् । लन्डन फेसन हाउसको काठमाडौं खुसिबुँमा पनि शाखा रहेको छ ।

लन्डन फेसन हाउसको क्रिएटिभ हेड एवं निर्देशक रहेकी मनिशा नेप्लीज् युथ क्लबकी संस्थापक अध्यक्ष, पासा पुचः गुठी युके उपाध्यक्ष रहेकी मनिशाले लन्डन फेसन हाउसको ब्यानरमा मिसेस् नेपाल युके, मिस टिन नेपाल युके तथा मिस लिटिल नेपाल युकेको आयोजना गर्दै आएकी छिन् । एनआरएनए युकेको पहिलो युथ कोअर्डिनेटर समेत रहिसकेकी उनी एनआरएनएमा विभिन्न रुपमा सक्रिय रहँदै आएकी छिन् । हाल उनी लन्डन फेसन हाउसकै ब्यानरमा टुडेज् वुमन नामक महिलाहरुमा समर्पित अन्तर्राष्ट्रिय म्यागाजिनको तयारीमा जुटेकी छिन् ।
वेष्ट लन्डन कलेज तथा सिटि अफ लन्डन कलेजबाट स्नातकोत्तरको अध्ययन पूरा गरेकी उनले लन्डन फेसन हाउस संचालन गर्नु पूर्व मनिषाले राल्फ लरेन, अर्मानी लेडिज वेयर जस्ता विश्व प्रतिष्ठित फेसन ब्रान्डका लागि कन्सल्टेन्टका रुपमा कार्य गरेकी थिइन् ।
मिसेस् युनिभर्स २५ देखि ४५ वर्षका विवाहिता महिलाहरुमा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकारप्रति समर्पित रहेको छ ।















प्रतिक्रिया दिनुहोस्