एनपीएल क्रिकेट: विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुँदै

काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आज दोस्रो क्‍वालिफायर हुँदैछ । सो खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुने यो खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गर्नेछ भने पराजित हुने टोली तेस्रोमै सीमित हुनेछ ।
अब २ खेल अनि ३ टोली बाँकी छन् । ३ टोलीमध्ये एक सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ । फाइनलमा पुग्ने अर्को टोलीको भने आज टुङ्गो लाग्दै छ ।

विराटनगर पहिलो क्‍वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो मौकामा खेल्दैछ । अर्कोतर्फ लुम्बिनीले भने बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएर दोस्रो क्‍वालिफायरमा स्थान बनाएको हो ।

लुम्बिनीले २४ घण्टाभित्रै अर्को खेल खेल्दै छ । यस्तोमा लुम्बिनीले हारबाट पुनरागमन गर्ने सोचमा रहेको विराटनगरसँग खेल्दै छ । यो नकआउट खेलमा जसले दबाब झेल्न सक्छ उसैले जित्ने पक्का छ । लुम्बिनीका कप्तान रोहित पौडेलले पनि त्यही भनाइ राखेका छन् ।

‘यो खेल दुवैलाई नकआउट हो, प्रेसर दुवैलाई बराबर हुन्छ । दुवै टोलीमा राम्रा खेलाडी छन् । जसले प्रेसर ह्यान्डल गर्न सक्छ त्यही टोलीले जित्न सक्छ’ उनले गएरातिको खेलपछि भनेका थिए, ‘हाम्रा लागि ४ वटै खेल नकआउटजस्तै थिए, हारेपछि बाहिरिने खालको थियो। अब बाँकी खेल पनि त्यस्तै हुन्, यस खेल महत्वपूर्ण हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्