देशभरका भन्सार कार्यालय बन्द, आज पनि वार्ता हुँदै
काठमाडौं, २४ मंसिर । नयाँ भन्सार ऐनका विभिन्न प्रावधानमा असहमति जनाउँदै देशभर पेनडाउन गरिरहेका भन्सार एजेन्ट र भन्सार विभागबीच आज बुधबार पनि वार्ता हुँदैछ। यसअघि मंगलबार प्रारम्भिक वार्ता भएको थियो।
शनिबारबाट कार्यान्वयनमा आएको नयाँ भन्सार ऐनमा दण्ड–जरिवाना कडा हुनु, जाँचपासका कागजात तथा प्रक्रिया अव्यावहारिक भएको कारण देखाउँदै उनीहरूले मंगलबार बिहानदेखि देशभरका भन्सार कार्यालयमा काम रोकेका छन्।
भन्सार एजेन्ट महासंघको आह्वानमा जाँचपास ठप्प भएपछि आयात–निर्यात प्रभावित छ। भन्सार विभागमा मंगलबार भएको वार्ता टुंगोमा नपुगेकाले बुधबार पनि आयात(निर्यात ठप्प पारिएको एजेन्टहरूले बताएका छन्।
विवादित प्रावधान संशोधन गर्न उच्च तहमा छलफल गर्नुपर्ने विभागको भनाइ छ।
ऐनमा भएका जरिवाना तथा कागजातसम्बन्धी प्रावधान कानुनी संरचनामा आधारित भएकाले तुरून्तै परिवर्तन गर्न नसकिने विभाग स्रोतले बतायो। त्यसका लागि आर्थिक ऐन संशोधन गर्नुपर्छ।
वार्तामा उठेका व्यवस्थापकीय प्रकृतिका समस्या भने विभागको क्षेत्राधिकारभित्र पर्ने भएकाले समाधानतर्फ अघि बढ्ने आश्वासन दिइएको छ।
ुव्यावहारिक प्रकृतिका विषय तत्काल सल्टाइन्छन्,ु भन्सार विभागका महानिर्देशक श्याम भण्डारीले भने, ुभन्सार प्रक्रियामा सहजता ल्याउने सुधारलाई विभागले प्राथमिकतामा राखेर अघि बढाउँछ।’
सर्भरको गति, काम छिटो गराउने व्यवस्था लगायतका माग कार्यगत समस्या भएकाले तुरून्तै समाधान गरिने भण्डारीले बताए।
वार्तापछि महासंघका प्रतिनिधिले प्रेस विज्ञप्ति जारी गर्दै छलफल जारी रहेको र विभागले समाधानतर्फ सकारात्मक संकेत दिएको बताएको छ।
यस्ता छन् माग:
भन्सार एजेन्टहरूले ५० प्रतिशत जरिवाना र अतिरिक्त महसुल तिर्नुपर्छ भन्ने व्यवस्था अन्यायपूर्ण भएको भन्दै हटाउन माग गरेका छन्।
दफा २० का उपदफा १० र ११ मा उल्लिखित प्रावधानमा अस्पष्ट शब्दहरू राखिएकोबारे स्पष्टीकरण मागिएको छ।
त्यस्तै, वस्तुको विवरण फरक पारी घोषणा गरिएमा हुने सजायअन्तर्गत भन्सार एजेन्टलाई तोकिएको सजाय हटाउन माग गरिएको छ।
नयाँ ऐनको दफा १०१ अन्तर्गत इजाजतपत्र निलम्बन वा रद्द गर्नुअघि जाँचपास प्रतिनिधिलाई सफाइ पेस गर्न दिनुपर्ने, उक्त निर्णयविरूद्ध ३५ दिनभित्र अदालतमा पुनरावेदन गर्न सक्ने छुट राखिनुपर्ने माग समावेश गरिएको छ।
दफा १०१ को उपदफा २ मा नैतिक पतन हुने फौजदारी कसुर प्रमाणित भए मात्र इजाजतपत्र स्वतः निलम्बन हुने व्यवस्था गर्नुपर्ने उनीहरूको धारणा छ।
भन्सार प्रणालीमा देखिने सर्भर समस्या स्थायी रूपमा समाधान नहुँदा दैनिक काम प्रभावित भइरहेकाले दीर्घकालीन समाधान खोज्न माग राखिएको छ।
सामान जाँचपास हुनुअघि प्रज्ञापनपत्रमा भएका सामान्य कमी–कमजोरी घोषणाकर्ताले आफै संशोधन गर्न पाउने व्यवस्था राखिनुपर्ने उनीहरूको माग छ। त्यस्तै, अनलाइन मूल्यांकन प्रणाली लागू भइसकेको अवस्थामा विश्व व्यापार सम्झौताअनुसार तिरेको वा तिर्नुपर्ने मूल्यलाई नै भन्सार मूल्य मानिनुपर्ने र मनोमानी मूल्य थपेर १०० प्रतिशत जरिवाना लगाउने प्रचलन खारेज गर्नुपर्ने माग पनि छ।
भन्सार एजेन्टमाथि लगाइने दण्ड–जरिवाना अस्वाभाविक भएकाले संशोधन गर्नुपर्ने, इजाजतपत्र नवीकरण अनलाइन वा स्थानीय कार्यालयबाटै गर्ने स्पष्ट व्यवस्था मिलाउनुपर्ने र नवीकरणका लागि राखिने बैंक जमानत खारेज गर्नुपर्ने माग पनि गरिएको छ।















प्रतिक्रिया दिनुहोस्