एनपीएल: सुदूरपश्चिम रोयल्स फाइनल खेलमा प्रवेश
काठमाडौं , २३ मंसिर । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा विराटनगर किंग्सलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।
पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ ।
साथै सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा विराटनगरसँग व्यहोरेको हारको बदलासमेत लिएको छ ।
दुई बलिया टिमबीच क्वालिफायरमा कडा प्रतिस्पर्धा हुने अपेक्षा भएपनि सुदूरपश्चिमले एकपक्षीय रुपमा खेलमा हाबी बनेको थियो ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो । सुदूरपश्चिमको धारिलो बलिङ र फिल्डिङ सामु विराटनगरको ब्याटिङ निरिह बन्यो ।
विराटनगरका लागि ओपनर फाफ डु प्लेसीले सर्वाधिक ३६ रन बनाउनु बाहेक अन्यले सम्झन लायक ब्याटिङ गर्न सकेनन् । उनले २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
मर्चेन्ट डे लाङले १५ र बसिर अहमदे १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।
सुदूरपश्चिमका बलरले पहिलो ओभरदेखि नै विकेट लिन थालेपछि विराटनगरको इनिङ्स धर्मराएको थियो । स्कट कुगेलेइनले पहिलो बलमै साम हिजलेटलाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट आउट गराए ।
त्यही ओभरको अन्तिम बलमा मार्टिन गप्टिल रनआउट हुँदा विराटनगरले दोस्रो विकेट गुमायो ।
दोस्रो ओभरको पहिलो बलमै हर्मित सिंहले नरेन भट्टलाई आउट गर्दा विराटनगर ३/३ को खराब अवस्थामा पुगेको थियो ।
एक छेउबाट लगातार विकेट जाँदा फाफ डु प्लेसीले अर्को छेउबाट सम्हाल्ने प्रयास गरेका थिए ।
डु प्लेसी र बसिर अहमदले चौथो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । यी दुईले इनिङ्स अगाडि बढाउने प्रयास गरेका थिए । तर बसिर पनि आउट भएपछि विराटनगर दबाबमा पार्यो । सुदूरका कप्तान दीपेन्द्रले बसिरलाई कट एण्ड बोल्ड गरेका थिए ।
लोकेश बलमले पाँचौ नम्बरमा ब्याटिङ गरेका थिए तर ५ रनमा आउट भए । उनलाई अविनाश बोहराले कट एण्ड बोल्ड गरे । त्यसपछि आएका नारायण जोशीलाई हर्मीतले बोल्ड गरेपछि विराटनगरले ९.१ ओभरमै ५३ रन बनाउँदा छैटौं विकेट गुमायो ।
११औं ओभरमा विराटनगरले डु प्लेसीसहित दुई विकेट गुमाएपछि इनिङ्स धरासयी बनेको थियो । एक छेउ सम्हालेका डु प्लेसीलाई हेमन्त धामीले शेल्डन ज्याक्सनबाट क्याचआउट गराए । त्यही ओभरमा प्रतिश जिसी पनि रनआउट भए ।
त्यसपछि मर्चेन्ट डे लाङ १५ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने अन्तिम विकेटको रुपमा आउट भए ।
विराटनगरलाई अलआउट गर्न सुदूरपश्चिमका बलरहरुले उत्कृष्ट बलिङ र फिल्डिङ गरेका थिए ।
सुदूरपश्चिमका स्कट कुगेलेइन, हर्मीत सिंह र अविनाश बोहराले २/२ विकेट लिए । हेमन्त धामी र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । विराटनगरका दुई खेलाडी रनआउट भए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो । विराटनगर विरुद्ध अर्धशतकपछि उनी सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा उक्लेका छन् । उनले ८ खेलबाट २६४ रन बनाएका छन् । पोखरा एभेन्जर्सबाट खेलेका इंग्लिस विकेटकिपर एडम रोसिङटनले लिगमा ७ खेलबाट एक शतकसहित सर्वाधिक ३२३ रन बनाएका छन् ।
यसै खेलबाट एनपीएलमा डेब्यु गरेका भारतका शेल्डन ज्याक्सनले २० रन जोडे । आरिफ शेखले पनि २० रन जोडे ।
यसै एनपीएलका अर्का डेब्युटान्ट मुख्तर अहमदले विनोदसँग ओपनिङ गरेका थिए । तर उनी १० रन बनाएर आउट भए ।
२१ रनमा पहिलो विकेट गुमाएको अवस्थामा विनोद र शेल्डन ज्याक्सनले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।
त्यसपछि विनोदले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । साम हिजलेटको बलमा नरेन भट्टले बाउण्ड्री लाइनमा सानदार क्याच लिएपछि पाण्डे १३ रनमा आउट भएका थिए ।
त्यसपछि आएका कप्तान दीपेन्द्र सिंह ऐरी दुई रन लिने चक्करमा व्यक्तित ३ रनमै रनआउट भए । हर्मीत सिंहले ११ बलमा १४ रन जोडे ।
एक छेउबाट लगातार विकेट जाँदा ओपनर विनोदले अर्को छेउबाट इनिङ्स सम्हालेका थिए । तर उनी ६३ रन बनाएर १९औं ओभरको अन्तिम बलमा आउट भए । विनोद र आरिफ शेखले छैटौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । आरिफ अन्तिम ओभरमा आउट भए ।
बलिङमा विराटनगरका लागि मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २२ तथा सूर्य तामाङ र साम हिजलेटले १/१ विकेट लिए । डे लाङले ४ ओभरमा २३ रन खर्चेका थिए ।















प्रतिक्रिया दिनुहोस्