जगत विश्वकर्माले गरे सचिवमा उम्मेदवारी घोषणा
काठमाडौं, २० मंसिर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य जगत विश्वकर्माले सचिवमा उम्मेदवारी घोषणा गरेका छन्।
नेताहरूसँगको छलफल र परामर्शका लागि आगामी पार्टीको ११ औं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने तयारी गरेको उनले बताए।
‘म लामो समय पार्टी भूगोलमा रहेर काम गरेँ। पार्टी आन्दोलनलाई आधारभूत तहसम्म पुर्याउन म पार्टीको साधारण सदस्य हुँदादेखि आजपर्यन्त अहोरात्र खटिरहेकै छु। पार्टी आन्दोलनलाई अझ व्यवस्थित र सुसंगठित तुल्याउनका लागि उम्मेदवार बन्ने निधो गरेको छु,’ उनले भने।
कास्की निवास विश्वकर्मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सोही जिल्लाको क्षेत्र नम्बर ३ बाट निर्वाचित भई युवा तथा खेलकुदमन्त्री बनेका थिए।
आफू झन्डै तीन वर्ष युवा तथा खेलकुद मन्त्री बन्दा खेलकुद ऐनदेखि सातै प्रदेशमा रंगशाला बनाउने कामको पहलकदमी लिएको बताउँदै अहिले पार्टी आन्दोलनको आवश्यकताका आधारमा सचिवको आकांक्षा राखेको उनले बताए।
‘पार्टीले गोरखा, मनाङको इन्चार्जको जिम्मेवारी दिएको थियो। साविक गण्डकी अञ्चलको ईन्चार्ज भएर पनि काम गरेको छु। गण्डकी प्रदेशको सचिव, अध्यक्ष हुँदै सहइन्चार्जको भूमिकामा छु। प्रत्येक भूमिकामा चित्तबुझ्दो कार्यसम्पादन गरेका हिसाबले पनि यो महाधिवेशनमा सचिवको दाबेदारको रूपमा प्रस्तुत गरेको हुँ,’ उनले भने।
विश्वकर्मा आठौं महाधिवेशनदेखि केन्द्रीय कमिटीमा निर्वाचित भएर आएका हुन्।
नवौं महाधिवेशनदेखि उनी पोलिटब्युरो सदस्यका रूपमा छन्।
एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ।
उद्घाटन भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।















प्रतिक्रिया दिनुहोस्