राप्रपाले मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने, आन्दोलनको कमाण्डर प्रवक्ता शाहीलाई
काठमाडौं, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा राजा र जेन(जीसहितको नवीन समझदारीको माग गर्दै सडक आन्दोलन गर्ने भएको छ । आन्दोलनको कमाण्ड गर्ने जिम्मेवारी प्रवक्ता ज्ञानेन्द्र शाहीले पाएका छन् ।
आन्दोलनको समग्र तयारी र रणनीति निर्माणका लागि पार्टीले विशेष आन्दोलन परिचालन समिति गठन गर्दै त्यसको नेतृत्व शाहीलाई सुम्पेको हो । अध्यक्ष राजेन्द्र लिङदेनले शाहीलाई आन्दोलन परिचालन समितिको संयोजक तोकिएको पत्र दिएका छन् । पत्रअनुसार समितिमा प्रवक्ता गोपाल दाहाल, सह–महामन्त्री रवीन्द्र प्रताप शाह र सह–महामन्त्री धनबहादुर बुढा सदस्यका रूपमा चयन भएका छन् ।
समितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो । बैठकमा अध्यक्ष लिङ्देन स्वयं उपस्थित रहेर आन्दोलनका एजेन्डा तथा व्यवस्थापनबारे निर्देशन दिएका थिए । बैठकमा २३ गतेको आन्दोलनलाई शान्तिपूर्ण, संगठित र संख्यात्मक रूपमा प्रभावशाली बनाउन आवश्यक तयारीबारे विस्तृत छलफल भएको पार्टी स्रोतले जनाएको छ ।
बैठकमा सहभागी नेताहरूका अनुसार जेन(जी आन्दोलनपछिको ताजा परिस्थितिले राजनीतिक दल, युवापुस्तादेखि राजासंस्थाका बीच नयाँ प्रकारको सहमतिको आवश्यकता देखिएको र त्यसकै लागि राप्रपाले दबाबपूर्ण जन–आन्दोलनको मार्ग रोजेको बताइएको छ ।
राजसंस्थासहितको स्थायी राजनीतिक संरचना निर्माण नगरेसम्म अस्थिरता अन्त्य नहुने राप्रपाले निष्कर्ष निकालेको छ ।
राप्रपाले यही मंसिर १३ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी पाँच बुँदे ज्ञापनपत्र बुझाइसकेको छ । ज्ञापनपत्रमा आगामी निर्वाचनअघि नै सर्वपक्षीय सहमति निर्माण गर्ने, दलहरूबीच विश्वसनीय संवाद, संवैधानिक संरचनामा सुधार, राष्ट्रको स्थिरताका लागि व्यापक सहमति, र भविष्यमा आन्दोलन आवश्यक नपर्ने गरी राजनीतिक मार्गचित्र बनाउने आदि माग समावेश छन् ।
आगामी मंसिर २३ को कार्यक्रमलाई राप्रपाले जेन(जी, राजनीतिक दल र राजाबीच नयाँ ‘नवीन समझदारी’ निर्माणको लागि ऐतिहासिक दबाब–कार्यक्रमका रूपमा लिएको छ । जनसहभागिता, नेतृत्वको उपस्थिति, संगठनगत संरचनाको पूर्ण परिचालन र ६ जिल्लाबाट समन्वित रूपमा मोबिलाइजेसन गर्ने तयारी तीव्र भइरहेको बताइएको छ ।
राप्रपाका एक नेताले भने, ‘यो आन्दोलन नयाँ सहमतिको मार्ग खोल्ने ऐतिहासिक मोड हो । जनता, दल र राजा—यी तीन शक्ति एक स्थानमा भेटिएमात्र देश स्थिर हुन्छ ।’
आजको बैठकले २३ गतेका लागि विस्तृत कार्ययोजना, सुरक्षा, भीड व्यवस्थापन, कार्यक्रम प्रवाह र मिडिया व्यवस्थापनमा उपसमिति गठन गरेको छ । राप्रपाका अनुसार नजिकिँदै गएको आन्दोलनलाई प्रभावकारी बनाउन दैनिक ब्रिफिङ र प्रदेश तथा जिल्ला–स्तरका संयोजक बैठकहरू निरन्तर भइरहनेछन् ।















प्रतिक्रिया दिनुहोस्