जनकपुर बोल्ट्सले चितवन राइनोजलाई हारउँदै पहिलो जित हातपारे
काठमाडौं, १६ मंसिर । अनिल शाह र माज सदाकतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धतशक प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित हात पारेको छ ।
माज सदाकत र अनिल शाहको अर्धशतकमा जनकपुरले चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
पहिलो जितपछि जनकपुरले ५ खेलबाट २ अंक जोड्दै अंकको खाता खोलेको छ । जनकपुरले यो जितबाट प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।
उता चितवनको भने पाँच खेलमा यो तेस्रो हार हो । ५ खेलबाट ४ अंकसहित चितवन चौथो स्थानमा छ ।
पाकिस्तानी युवा अलराउण्डर माजले ६३ रन बनाए । माजले एनपीएलमा पहिलो अर्धशतक बनाउने क्रममा ३० बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरी ६३ रन जोडे । माजले २४ बलमै अर्धशतक प्रहार गरेका थिए ।
अघिल्लो खेलमा सुदूरपश्चिमविरुद्ध ड्रप भएका अनिल चितवन विरुद्ध प्लेइङ एघारमा फर्कँदै सानदार ब्याटिङ गरेका थिए । उनले ६१ रन बनाए ।
अनिलको कप्तानीमा जनकपुरले सुरुवाती तीन खेलमा हार व्यहोरेपछि चौथो खेलमा दक्षिण अफ्रिकी बलर वायन पार्नेललाई जनकपुरले कप्तान बनाउँदै अनिललाई ड्रप गरेको थियो ।
कप्तानीमा पार्नेल नै निरन्तरता पाउदा अनिलले पाँचौ खेलमा वान डाउनमा ब्याटिङ गर्दै ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
माज सदाकत र आसिफ शेखले पहिलो विकेटका लनगि ४५ रनको साझेदारी गर्दै जनकपुरलाई राम्रो सुरुवात दिलाएका थिए । आसिफ १७ बलमा १८ रन बनाएर छैटौं ओभरमा आउट भए ।
त्यसपछि माजले अनिल मल्लसँग दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । माज र अनिलले ७९ रनको साझेदारी गरेका थिए ।
आदित्य महताले ७ बलमा २ चौका र १ छक्का मद्दतमा अविजित १८ रन जोडे ।
बलिङमा चितवनका सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेलाले १(१ विकेट लिए ।
मालान र अर्जुनको शतकीय साझेदारी
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डाविड मालानको उत्कृष्ट ब्याटिङमा २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
चितवनका लागि ओपनर डाविड मालानले सर्वाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन जोडे । कप्तान कुशल मल्लले अविजित ३० रन जोडे ।
चितवनक लागि मालान र अर्जुन साउदले पहिलो विकेटका ११२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए ।
चितवनले नियमित ओपनर दीपक बोहरालाईलाई ड्रप गर्दै आज अर्जुन साउदलाई डाविड मालानसँग ओपनिङ गराएको थियो । जुन फलदायी भयो ।
मालान र अर्जुनले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । दुवै ओपनरले अर्धशतक पनि प्रहार गरे ।
यस सिजन चौथो शतकीय साझेदारी थियो भने पहिलो विकेटका लागि दोस्रो शतकीय साझेदारी हो । यस्तै पहिलो विकेटका लागि भएको सर्वाधिक साझेदारी पनि हो ।
यसअघि सुदूरपश्चिमका विनोद भण्डारी र जोश ब्राउनले पोखरा एभेन्जर्सविरुद्ध पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए ।
ओपनिङ जोडीले उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछिका ब्याटर अर्को छेउबाट आउट भएका थिए ।
मालानले १९औं ओभरमा आउट हुनुअघि ५४ बल खेल्दै ४ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८० रन जोडे । जनकपुरका माज सदाकतले मालानलाई १९औं ओभरको दोस्रो बलमा एलबीडब्लु धरापमा पारेका थिए ।
यस्तै यस सिजन पहिलो पटक ओपनिङ गरेका अर्जुन साउदले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५२ रन बनाए । उनलाई निकोल लफ्टी इटनले सञ्जय कृष्णमूर्तिबाट क्याचआउट गराएका थिए ।
१४औं ओभरको चौथो बलमा ५२ रन हुँदा अर्जुनको क्याच आदित्य महताले छाडेका थिए । तर, लगत्तै अर्को बलमा कृष्णमूर्तिले क्याच गर्दै आउट गरेका हुन् ।
तेस्रो क्रममा ब्याटिङमा आएका सैफ जैब ५ बलमा ७ रन बनाएर १५औं ओभरमा आउट भए । त्यस्तै यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका रबि बोपारा पनि आज सस्तैमा आउट भए । बोपारा ५ बलमा ३ रन जोडेर आउट भए ।
अर्को छेउबाट लगातार विकेट जाँदा एक छेउ सम्हालेका मालान पनि १९औं ओभरमा आउट भएका थिए ।
कप्तान कुशल मल्लले अन्तिम ओभरमा दुई छक्का र एक चौकासहित १८ रन जोडेका थिए । मल्लले १४ बल खेल्दै २ चौका र २ छकक् मदतमा अविजित ३० रन जोडे ।
जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र लफ्टी इटनले समान एकरएक विकेट लिए ।















प्रतिक्रिया दिनुहोस्