एनपीएलः लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने
काठमाडौं, १३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको लिगमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच पहिलो खेल हुनेछ । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।
अंकतालिकामा बटम हाफमा रहेका लुम्बिनी र पोखरा दुबै लागि आजको खेल महत्वपूर्ण छ । प्लेअफ होडमा कायम रहन दुवै टोली जितको लक्ष्यमा छन् ।
लुम्बिनीले पहिलो खेल जितेपछि लगातार तीन खेलमा हार व्यहोरिसकेको छ । त्यसैले आजको खेलमा त्यो हारको यात्रा ब्रेक गर्न चाहन्छ । लुम्बिनी र पोखराको समान २ अंक छ । तर लुम्बिनीले चार खेल खेलिसक्दा पोखराले ३ खेल मात्र खेलेको छ ।
सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पछिल्लो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा फर्केको संकेत गरेको छ ।
यसैगरी दिउँसो साढे ३ बजे हुने खेलमा साविक उपविजेता सुदूरपश्चिम रोएल्स र साविक विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिम लगातार चार खेल जितेर एक्लो अपराजित टोलीको रुपमा छ भने जनकपुरले यस सिजन खेलेको सबै तीन हार हारेर जितविहिन छ । सुदूरपश्चिम यस सिजन बलियो देखिएको छ र प्लेअफ नजिक पुगेको छ । सुदूरवश्चिम ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ ।
जनकपुरका लागि प्लेअफको सम्भावना कायम राख्नका लागि पनि आजको खेल जित्नैपर्ने बाध्यता छ । त्यस कारण आजको खेल निकै प्रतिष्पर्धी हुनेछ ।















प्रतिक्रिया दिनुहोस्