पूर्वाधार र कानुन अभावमा काम गर्न कठिन : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
हेटौँडामा आइतबार भएको प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूबीच छलफल एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले पूर्वाधार र कानुन अभावमा प्रदेश सरकार संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताए । प्रदेश सरकार गठन भएको ४ महिना हुन लाग्दा जनताले अपेक्षा धेरै गरे पनि प्रदेश सरकारले भने पूर्वाधार र कानुनकै अभावमा जनअपेक्षाअनुसार काम गर्न नसकेको उनको भनाई छ । ‘प्रदेश सरकार गठन भएपछि केही गर्ला भन्ने जनताको अपेक्षा छ । तर हामी आफ्नै समस्यामा अलमलिएका छौं’, उनले भने । उनले प्रदेश सरकारले पहिचान गरेका ९९ वटा कानुन निर्माण गर्नु पर्नेमा अहिलेसम्म १२ वटा मात्रै कानुन निर्माण भएकोले संवैधानिक प्रक्रियाका कारण ढिलो भइरहेको बताए। ‘हामीले पहिचान गरेका ९९ कानुन मध्ये अहिले १२ वटा मात्रै बनाउन सकेका छौं’, ‘विगतमा काम छिटो गर्नुपर्छ भन्ने हामी नै हौं। तर अहिले प्रक्रियामा जाँदा जेरी जेलिए जस्तो भएर अलमलिएका छौं।’ अप्ठ्याराहरूलाई चिर्दै जनताको हितमा काम गर्न जरुरी रहेको पौडेलले बताए । कार्यक्रममा ७ वटा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्