जारी २’, को व्यापार पूर्वमा आक्रामक, मिरुना र उपेन्द्र दर्शक भेट्न हलमा
काठमाडौं, २५ कार्तिक । पछिल्लो समय पूर्वी नेपाल नेपाली फिल्मको ठूलो व्यापारिक हबको रुपमा उदाएको छ । धरान, बिर्तामोड, इटहरी, दमक जस्ता सहरमा एकपछि अर्को फिल्मले उल्लेखनीय व्यापार गरिरहेका छन् । २०७९ सालमा ‘जारी’ले धरानको एउटै हलबाट १८ लाखभन्दा बढी शेयर लिएको थियो । ‘पूर्णबहादुरको सारङ्गी’, ‘१२ गाउँ’ जस्ता फिल्म पनि पूर्वमा अत्याधिक हेरियो ।
यतिबेला फिल्म ‘जारी २’ले पूर्वका हलमा एकछत्र पकड बनाएको छ । फिल्मको बुकिङ खुलेसँगै पूर्वी नेपालमा टिकटको भारी माग देखिएको थियो । प्रदर्शनको ६ दिन भइसक्दा पनि फिल्मप्रति दर्शकको आकर्षण अझै कम भएको छैन । धरानको फ्रेन्डस् सिनेमाज्ले दैनिक ५ देखि ७ शो उपलब्ध गराउँदा समेत फिल्म हेर्न आएका दर्शकले पर्याप्त मात्रामा टिकट पाउन सकेका छैनन् ।
बिर्तामोडको क्यूएफएक्स हल, इटहरीको क्यूएफएक्स र इलाइट सिनेमाज्, दमकको डिम्याक्स हलमा पनि ‘जारी २’ हेर्ने दर्शकको चाप प्रदर्शनको दिनदेखि नै उल्लेख देखिएको छ । काठमाडौं, पोखरा, नेपालगञ्ज जस्ता सहरमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ । मंगलबारदेखि ‘डिरेक्टर्स कट’ संस्करण हलमा लागेकाले फिल्मप्रति दर्शकमा अझ उत्साह बढेको देखिन्छ ।
फिल्मले पूर्वका हलहरूमा उत्साहजनक व्यापार गरेपछि दर्शकसँग साक्षात्कार गर्न अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा कोशी प्रदेश पुगेका छन् । सोमबार झापाको दमक र विर्तामोडमा दर्शकसँग भेट गरेका उनीहरू मंगलबार सुनसरीको धरान र इटहरीका विभिन्न हलमा पुगेका थिए । मिरुनाले दर्शकको प्रतिक्रियाबाट आफू उत्साहित रहेको बताएकी छन् ।
लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित यस फिल्ममा मिरुनासहित दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनिल सुब्बा,सिर्जना निङ्लेखु, उपेन्द्र सुब्बा लगायतको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको यो फिल्मका निर्माताहरू रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन् ।
















प्रतिक्रिया दिनुहोस्