महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जना पक्राउ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

आज राजधानीमा प्रहरीले पत्रकार सम्मेलन गरी नुवाकोट पञ्चकन्या गाउँपालिका ५ का राजीव स्याङ्तान, पर्सा कालिकामाई गाउँपालिका १ का ३५ बर्षीया शिवजी महतो, भारत विहार बेतिया चौबेटोलाका २४ बर्षिय मुकेश कुमार पाण्डे, पर्सा ठोरी गाउँपालिका ५ का १८ बर्षिय सन्तोष गुरुङ र काठमाण्डौं नागार्जुन नगरपालिका ४ का २२ बर्षिय प्रकास बुढाथोकीलाई सार्वजनिक गरेको हो । अन्य ८ जनालाई अभियुक्त भने अझै फरारको रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
जिल्ला अदालत काठमाडौंले उनीहरुमाथि थप अनुसन्धानका लागि ६० दिनको म्याद थप गरेको छ । उनीहरुविरुद्ध सांगठनिक अपराध ऐन अन्र्तगत मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।
गत असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको थियो । झण्डै एक महिनाको सुक्ष्म अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न ५ जनालाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।

गत असोज २३ गते काठमाडौंको शान्तिनगर खरीबोट स्थित आफ्नो निवासबाट निस्किए लगत्तै दुई जनाको समुहले उनलाई गोली प्रहार गरेको थियो । तीन वटा गोली लागेका उनलाई मीनभवन निजामती कर्मचारी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्