सन्तानको सपना र आर्थिक चुनौतीको कथा बुनिएको फिल्म ‘धागो’को ट्रेलर सार्वजनिक

काठमाडौं, १७ कार्तिक । कात्तिक २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘धागो’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरले आर्थिक अभावले सिर्जना गर्ने चुनौती र त्यससँग जुध्न गरिएको संघर्षलाई केन्द्रमा राख्दै हाँसो, खुसी र पीडाको मिश्रण प्रस्तुत गरेको छ । यसमा परिवारभित्रको भावनात्मक सम्बन्ध र सामाजिक संघर्षको पनि मार्मिक चित्रण छ ।

फिल्ममा सुरक्षा पन्त र प्रभात थापा श्रीमान्(श्रीमतीको भूमिकामा छन्, जो आफ्नो सन्तानको सपना र इच्छा पूरा गर्न प्रयासरत छन् । तर, आर्थिक कठिनाइका कारण परिवारमा विग्रह र चुनौतीहरू निम्तिन्छ, जसले कथालाई अझ संवेदनशील बनाएको छ । फिल्मले दर्शकलाई कथाको गहिरो संसारमा पुर्‍याउँदै भावनात्मक यात्रामा लैजाने संकेत ट्रेलरले दिएको छ ।

नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको यो फिल्मका निर्देशन उदिप राणा थापाले गरेका हुन् । उनको यो डेब्यू निर्देशकीय फिल्म हो । उमा थापा, उत्तम थापा र उदिप थापा फिल्मको निर्मातामा छन् । फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीको जीवन र सांस्कृतिक सम्बन्धलाई कथाको केन्द्रमा राखेको जनाइएको छ ।

बलिउडका अनिकेर एम। घोघको छायांकन, अखिलेश रायको सम्पादन तथा पुष्पन प्रधानको संगीत रहेको फिल्ममा सुरक्षा र प्रभातसँगै सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ लगायतको अभिनय देख्न सकिनेछ । फिल्मको एक गीतमा अभिनेत्री वर्षा राउतले नृत्य गरेकी छन् ।

Screenshot
प्रतिक्रिया दिनुहोस्