काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं, १३ कार्तिक । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्दैछ।
गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३ र २४ गतेका जेनजी’ आन्दोलन, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा काँग्रेसको भूमिका र महाधिवेशनलगायत विषयमा बैठक केन्द्रित रहने पार्टीले जनाएको छ ।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रित रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ । नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरी कार्यवहक सभापति खड्कालाई बुझाई सकेको छ ।
यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।
यसबिचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो । आजको बैठकले पाटीए महाधिवेशन र अन्य धेरे विषयका बारेमा निर्णय गर्ने छ ।















प्रतिक्रिया दिनुहोस्