आईसीसी टी-२० विश्वकप: आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, २९ असोज। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ ।
छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन् । आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ । यसर्थ नेपालले आजको खेल जिते विश्वकपमा छनोट हुनेछ ।

नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हरायो ।

नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि ओमानसँग खेलेको थियो जहाँ ६ विकेटले विजयी भएको थियो ।

टी-२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ८ पटक भिडेका छन् । जहाँ नेपालले ५ खेल जित्दा ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ ।

नेपालले यसपछि शुक्रबार सामोआसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्