ट्रम्प र किमबीच १२ तारिखमै भेटवार्ता

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग यही जुन १२ तारिखमै सिंगापुरमा भेटवार्ता हुने बताएका छन् ।

उत्तर कोरियाली नेता किमले पठाएको पत्र लिएर पुगेका किम योङ चोलसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले पूर्वनिर्धारित मितिमै भेटवार्ता हुने बताएका हुन् ।

यसअघि राष्ट्रपति ट्रम्पले १२ तारिखमा हुने भनिएको भेटवार्ता रद्द भएको घोषणा गरेका थिए । उनले सर्वप्रथम उत्तर कोरियाली नेता किमले पठाएको पत्र रोचक भएको बताएका थिए ।

तर पछि उनले सो पत्र खोल्न नपाएको बताए । उनले पत्रकारहरुसँग कुरा गर्दै किम जोङ उनको यो पत्र आफूलाई एक बैठकमा मिलेको र त्यो धेरै राम्रो भएको बताए ।

उनले यो पत्रमा के छ भनेर तपाईंहरुले जान्न चाहनुभएको छ भने त्यसलाई चाँडै सार्वजनिक गर्ने पनि बताए ।

उनले सिंगापुरमा हुने भेटवार्तामा कोरियाली युद्धको औपचारिक समापन गर्ने विषयमा छलफल हुने बताए ।

कोरियाली देशबीच सन् १९५० देखि १९५३ सम्म संघर्ष भएको थियो तर शान्ति सम्झौता भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्