म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला, ४९ जनाको मृत्यु
काठमाडौं, १३, असोज। म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । घटनामा ५८ जना घाइते भएका छन् ।
अराकान आर्मी र उद्धार कार्यमा संलग्न एक अधिकारीका अनुसार सोमबार क्याउक्ताव टाउनसिपको स्थानीय बजारनजिक एक लडाकु विमानले दुईवटा बम खसालेको थियो । मृतकमा बजारका व्यापारी, सामान किन्न आएका ग्राहक तथा बाटो हिँडिरहेका सर्वसाधारण रहेको बताइएको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको छ ।
रखाइनमा उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी वाई हुन आङले घटनास्थलमा रहेका उद्धारकर्मीबाट प्राप्त विवरणका आधारमा हताहतको संख्या पुष्टि गरेको एसोसिएटेड प्रेसले जनाएको छ । उनका अनुसार उक्त बजार राज्यकै प्रमुख थोक व्यापार केन्द्रमध्ये एक थियो, जहाँ विभिन्न क्षेत्रबाट व्यापारी तथा ग्राहक आउने गरेका थिए ।
अराकान आर्मीले घटनालाई आफूहरूको नियन्त्रणमा रहेको क्षेत्रमा भएको गम्भीर हवाई हमला भन्दै जिम्मेवार पक्ष र संस्थाविरुद्ध प्रभावकारी जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।
सेनाले तत्काल प्रतिक्रिया दिएन
हमलापछि सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा केही भवनमा आगो लागेको, सवारीसाधन क्षतिग्रस्त भएको र नजिकैको पुलको केही भाग भत्किएको देखिएको बताइएको छ । घटनाबारे म्यान्मारको सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
सेनाले यसअघि भने आफूले वैध सैन्य संरचनालाई मात्र निशाना बनाउने दाबी गर्दै आएको छ । उसले विद्रोही समूहहरूलाई आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएको छ ।
क्याउक्ताव म्यान्मारको दोस्रो ठूलो सहर माण्डलेबाट करिब ३४० किलोमिटर पश्चिममा पर्छ । उक्त क्षेत्र अहिले अराकान आर्मीको नियन्त्रणमा रहेको बताइएको छ । घटनाको विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्न भने कठिन रहेको समाचारमा उल्लेख छ ।
म्यान्मारमा सन् २०२१ फेब्रुअरी १ मा सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि देशमा सशस्त्र द्वन्द्व चर्किएको हो । सैन्य शासनविरुद्धको आन्दोलनमाथि सुरक्षा बलले बल प्रयोग गरेपछि लोकतन्त्र समर्थक समूहका केही सदस्यले समेत हतियार उठाएका थिए । त्यसपछि देशका विभिन्न क्षेत्रमा सेना, लोकतन्त्र समर्थक विद्रोही समूह र जातीय सशस्त्र संगठनबीच संघर्ष जारी छ ।
रखाइन राज्यमा अराकान आर्मीले सन् २०२३ नोभेम्बरदेखि सैन्य अभियान तीव्र बनाएको छ । समूहले रणनीतिक रूपमा महत्वपूर्ण सैन्य आधार तथा राज्यका १७ मध्ये १४ वटा टाउनसिपमा नियन्त्रण कायम गरेको दाबी गरिएको छ ।
लडाइँ चर्किएसँगै सेनाले व्यापारिक मार्गमा कडा प्रतिबन्ध लगाएपछि रखाइनमा खाद्यान्न अभावसमेत बढेको बताइएको छ । यसअघि रखाइनको म्राउक–यू टाउनसिपस्थित एक अस्पतालमा भएको सैन्य हवाई हमलामा कम्तीमा ३४ जनाको मृत्यु र ८० जना घाइते भएको विवरण सार्वजनिक भएको थियो । एजेन्सी







प्रतिक्रिया दिनुहोस्