आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौँ – आज विश्व मधुमेह दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्व मधुमेह संस्था र विश्व स्वास्थ्य संगठनको घोषणा अनुरुप सन् १९९१ देखि यो दिवस मनाउन थालिएको हो ।

मधुमेहको उपचारको लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेडेरिक ब्यान्टिङको जन्मदिनको सम्झनामा नोभेम्बर १४ लाई मधुमेह दिवसको रुपमा मनाइन्छ ।

विश्वमा २८ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् । नेपालमा पनि २० वर्ष र त्यसभन्दा माथिका झण्डै १५ प्रतिशत मानिसलाई मधुमेह भएको तथ्यांक छ । छिटोछिटो पिसाब लाग्ने, मुख सुख्खा हुने, छिटो तिर्खा लाग्ने, बढी भोक लाग्ने, तौल घट्ने, कमजोरी महसुस हुने, दृष्टि धमिलो हुने, घाउ चोटपटक निको हुन बढी समय लाग्ने लक्षण भएका व्यक्तिलाई मधुमेह हुने सम्भावना हुन्छ ।

कम शारिरीक श्रम, फास्टफुड, चिल्लो गुलियो खानेकुराको बढी प्रयोग र तनावका कारण गाउँकालाई भन्दा सहरमा बस्ने मानिसलाई मधुमेह बढी हुने गरेको पाईएको छ । बेलैमा नियन्त्रण राख्न नसकेमा मधुमेहले आँखा, मुटु, मिर्गौला र नसाहरुमा नराम्रो असर पार्न सक्ने चिकित्सकहरुको भनाई छ ।

मधुमेह दीर्घ रोग भएकाले यसबाट बच्न रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्नुपर्छ । यसको लागि सन्तुलित भोजनको आवश्यकता पर्छ । खानपान र आनीवानीमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् । चिकित्सकहरुका अनुसार मधुमेहबाट बच्न लामो समससम्म भोकै नबस्ने, फलफूल, हरिया सागपात, काँक्रो, मूला, गाजर, विना चिनीको चिया खाने, गुलियो नखाने, चिल्लो पदार्थ नखाने, दैनिक व्यायाम र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्