भाइटीका (कात्तिक ६ गते) बाट प्रदर्शनमा आउने फिल्म ‘वरिष्ठ बलराम’को रोमान्टिक गीत ‘न्याउली वनैमा’ सार्वजनिक
काठमाडौं, ९ असोज । भाइटीकाको दिन पारेर कात्तिक ६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘वरिष्ठ बलराम’को पहिलो गीत ‘न्याउली वनैमा’ सार्वजनिक गरिएको छ । लोक शैलीमा आधारित यस गीतमा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीको स्वर रहेको छ भने शब्द तथा संगीत गायक सिवाकोटी स्वयंको हो । प्रेमका भावना समेटिएको गीतमा हितैषी मायालाई मनमा राख्ने कुरा गरिएको छ ।
प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी विजय बराल र समृद्धि अर्यालको आकर्षक नृत्य देख्न सकिन्छ । नेपाली संस्कृति झल्किने परम्परागत पोशाकमा सजिएका उनीहरू रोमान्टिक मूडमा देखिएका छन् । गीतमार्फत उनीहरूले एकअर्काप्रति प्रेमभाव प्रकट गर्दै मायाको संसार बसाउने आकांक्षा व्यक्त गरेका छन् ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’मा विजय र समृद्धिसहित दयाहाङ राई, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पिके डन) लगायतको अभिनय रहेको छ । निर्देशक पौडेल स्वयंको कथा र सम्पादन रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्मका निर्माताहरू आशिष एच तामाङ र श्रीराज कार्की हुन् । मनकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा प्रदीप लामाको नृत्य निर्देशन छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवन जिल्लामा गरिएको हो ।

















प्रतिक्रिया दिनुहोस्