दशैमा प्रदर्शन हुने नेपाली फिल्महरु र फिल्मले गर्ने व्यापारको लेखाजोखा

काठमाडौं, ८ असोज । नेपाली फिल्म क्षेत्रका लागि २०८१ साल निकै महत्त्वपूर्ण रह्यो । किनभने, गत वर्ष नेपाली फिल्मले मात्र डेढ सय करोडको व्यापार गरे । त्यसमा ४६ करोड योगदान सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ एक्लैको थियो । दशैंमा प्रदर्शन भएका चार फिल्मले पनि करिब ४० करोडको व्यापार गरे । अर्थात् दशैं र तिहारमा मात्र नेपाली फिल्मले झन्डै ९० करोड कमाएका थिए ।

घटस्थापनमा रिलिज भएको ‘बेहुली फ्रम मेघौली’ले ३ करोडमाथि कमाउँदा फूलपातीका तीन फिल्ममध्ये ‘१२ गाउँ’ले २० करोड, ‘छक्का पञ्जा ४’ले १५ करोड र ‘घर ज्वाइँ’ले डेढ करोड ग्रस कमाए । नेपाली फिल्मको इतिहासमै दशैं विदामा यति ठूलो व्यापार भएको यो पहिलो पटक हो । गत वर्षको दशैंमा भएको कमाइले यस वर्षको फूलपातीमा पनि फिल्म रिलिजको बाढी ल्याएको छ ।

यही असोज १३ (फूलपाती)मा ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, र ‘बलिदान’ गरी तीन फिल्म प्रदर्शन हुँदैछन् । यी तीन फिल्ममा कलाकारको लाइनअप बलियो हुनु र प्रचार सामग्री (ट्रेलर र गीत)ले दर्शकमा राम्रो प्रभाव पारेकाले दशैंमा सुखद व्यापार हुने अपेक्षा गरिएको छ । तर, भिडन्तका कारण शो र दर्शक बाँडिने हुँदा तीन फिल्मको व्यापार प्रभावित हुनसक्ने सम्भावना देखिन्छ ।

‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को निर्माण लागत ३ करोडभन्दा माथि छ भने ‘बलिदान’ ५ करोडभन्दा बढी लागतमा बनेको हो । यसअर्थ यी तीन फिल्मले लगानी उठाउन २४(२५ करोड कमाउनु पर्नेछ । अघिल्लो दशैंमा भएको कमाइको आधारमा यो लक्ष्य टाढा छैन । तर, यसपालि ‘जेनजी’ आन्दोलनका कारण अवस्था फरक रहेकाले व्यापारबारे अनुमान लगाउन सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्