स्टील आयातमा अमेरिकाले लगायो भारी कर
काठमाडौं । युरोपेली संघ, मेक्सिको र क्यानडाबाट गरिने स्टील र एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयलाई ती देशहरुले आपत्ति जनाएका छन् ।
बिहीबार रातिबाटै लागू हुने गरी स्टील आयातमा २५ र एलुमिनियम आयातमा १० प्रतिशत कर लगाइने निर्णय अमेरिकाले गरेपछि बेलायतसहितका अमेरिकका मित्र राष्ट्रले नै आपत्ति जनाएका हुन् । असन्तुष्ट युरोपेली संघ र मेक्सिकोले त्यसका बदलामा आफूहरुले पनि कदम चाल्ने बताएका छन् ।
यसअघि अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले अमेरिका निर्यात हुने स्टील र एलुमिनियमाथि कर लगाइने प्रावधानलाई रोक्ने प्रयास गरिरहेका ईयूका नेताहरुसँगको वार्तास्थल पेरिसबाटै त्यस्तो निर्णयको घोषणा गरेका हुन् ।
वार्तामा पर्याप्त प्रगति नभएपछि उठाइएको कदममा मित्र राष्ट्रका प्रतिक्रिया स्वाभाविक रहेको टिप्पणी विदेशमन्त्री रसको छ ।
फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेएरले अमेरिकी कर अनुचित र खतरनाक हुने भन्दै ईयूले अमेरिकाले लगाएको करको जवाफ दिन सबै आवश्यक उपाय अपनाउने चेतावनी दिए ।
युरोपेली आयोगका अध्यक्ष जँ क्लोड युङ्करले कर लागू गर्ने अमेरिकी निर्णय अस्वीकार्य रहेको भन्दै त्यसविरुद्ध सबै उपाय अपनाइने टिप्पणी गरे ।
मेक्सिकोले अमेरिकी स्टील र कृषि उत्पादनमा पनि उस्तैखाले प्रावधान लागू गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्