६ कात्तिक भाइटीकाबाट हुँदैछ फिल्म ‘वरिष्ठ बलराम’को प्रदर्शन

काठमाडौ, २ असोज । भाइटीका (६ कात्तिक)बाट फिल्म ‘जारी २: ‘सङ अफ च्याब्रुङ’ दुई साता पछाडि सरेसँगै उक्त मितिमा प्रदर्शन हुन लागेका दुई फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ले आफ्नो प्रचार अभियान तीव्र बनाएका छन् । बिहीबार बिहान ‘सोल्टिनी’को टिजर सार्वजनिक भएसँगै ‘वरिष्ठ बलराम’का दुई नयाँ पोस्टर पनि दर्शकमाझ ल्याइएको छ ।

पहिलो पोस्टरमा फिल्मका दुई मुख्य अभिनेता दयाहाङ राई र विजय बरालबीच घम्साघम्सी परेको देख्न सकिन्छ । पृष्ठभूमिमा लामबद्ध टिपरहरु छन् । दोस्रो पोस्टरमा उनीहरुलाई सोचमग्न अवस्थामा प्रस्तुत गरिएको छ भने अभिनेत्री समृद्धि अर्याल हँसिलो मुद्रामा देखिएकी छन् । दुई पोस्टरले फिल्मको कथा अस्तित्वको संघर्षमा आधारित रहेको संकेत गर्छ ।

सम्पादकको रुपमा परिचित सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’मा दयाहाङ, विजय र समृद्धिसहित पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी लगायतको अभिनय रहेको छ । निर्देशक पौडेल स्वयंको कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । मनकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा प्रदीप लामाको नृत्य निर्देशन छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्