अमेरिकाका ८० पर्दामा रिलिज हुँदै ‘हरिबहादुरको जुत्ता’
काठमाडौं, १ असोज । यसपालिको दशैंको फूलपाती (१३ असोज)मा फिल्म ‘हरिबहादुरको जुत्ता’ नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शन हुने भएको छ । अमेरिकाका ८० पर्दामा फिल्म रिलिज हुने वितरक कम्पनी इन्टरटेनमेन्ट एलएलसीले जनाएको छ । यस कम्पनीका प्रमुख आहाना पौडेल हुन् । यही फिल्मबाट वितरणमा डेब्यु गर्न लागेका उनी फिल्म वितरक उज्ज्वल पौडेलका छोरा हुन् ।
टेक्सासमा बसोबास गर्दै आएका आहानाले ‘हरिबहादुरको जुत्ता’ अमेरिकाको बक्स अफिसमै रिलिज हुने जानकारी दिए । उनका अनुसार टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड लगायतका सहर र राज्यमा फिल्म प्रदर्शन हुनेछ ।
फिल्मलाई अमेरिकाका ठूला मल्टीप्लेक्स चेनहरू सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज, एप्पल सिनेमाजमा रिलिज गर्ने तयारी भइरहेको आहानाले बताए । टिजर र दुई गीत (बेला बितेसी र ढाका टोपी शिरैमा) रिलिजपछि अमेरिकामा फिल्मप्रति दर्शकको चासो उल्लेख्य बढेकाले व्यापार राम्रो हुने उनको विश्वास छ ।
दीपेन्द्र के। खनालको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतको अभिनय रहेको छ । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्ममा हरिवंश आचार्यको लेखन, कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ ।
















प्रतिक्रिया दिनुहोस्